बांग्लादेशमा सञ्चालन भइरहेको आइसीसी यु १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले टेष्ट मान्यता प्राप्तराष्ट्र न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको छ।

सातौंपटक यु १९ विश्वकप खेलिरहेको नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्रलाई हराएको यो छैटौं पटक हो।

यो विजयसंगै नेपाली टोलीले प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्ने सम्भावना पनि वढेको छ।

जित

ब्याटिङमा संधै कमजोर देखिँदै आएको समस्यालाई चिर्दै नेपालले बिहीबार यु १९ विश्वकपमा अहिलेसम्मको सर्वाधिक उच्च २३८ रन बनायो।

त्यसपछि परम्परागत बलिङ र फिल्डिङ शक्तिको प्रयोग गर्दै टोलीले प्रतिद्वन्दी न्युजिल्याण्डलाई २०६ रनमा सीमित गरेको थियो।

नेपाललाई जित दिलाउने क्रममा स्पिनर दिपेन्द्र ऐरीले ३ विकेट लिए भने टोलीले तीन विपक्षीलाई रन आउट गरेका थिए।

ब्याटिङ तर्फ कप्तान राजु रिजालले ४८ तथा उपकप्तान आरिफ शेख र सन्दिप सुनारले समान ३९ रन बनाएका थिए।

कप्तान रिजाल र उप कप्तान शेखले तेस्रो विकेटका लागि बनाएको ६१ रन महत्वपूर्ण बनेको थियो।

खेल

जितपछि कप्तान राजु रिजालले भने, “यो सम्पूर्ण टोलीको मेहनतको प्रतिफल हो। प्रशिक्षकले हामीलाई जितको विश्वास दिलाउनु भयो। खेलाडिहरु सबैले आ-आफ्नो फिल्डमा राम्रो गरे र टोलीलाई माथि उठाए।”

यु १९ विश्वकपमा नेपालले टेष्ट मान्यता राष्ट्र न्युजिल्याण्डलाई हराएको यो दोस्रोपटक हो।

यसअघि सन् २००६ मा भएको प्लेट फाइनलमा नेपालले न्युजिल्याण्डलाई नै पराजित गर्दै उपाधि जितेको थियो।

सातपटक विश्वकप खेल्ने क्रममा नेपालले टेष्ट खेल्ने राष्ट्रहरु दक्षिण अफ्रिका, पाकिस्तान, जिम्बावे र बांग्लादेशलाई पराजित गरिसकेको छ।

समूह डीमा रहेको नेपालले अव शनिवार आयरल्याण्ड र त्यसपछि छिमेकी भारतसंग खेल्दैछ।

आशा

विश्वकप पुग्नका लागि खेलिएको छनोट खेलमा पनि नेपालले फाइनलमा आयरल्याण्डलाई नै पराजित गरेको थियो।

तर कप्तान रिजाल कुनै पनि टोलीलाई कमजोर नठान्ने बताउछन्।

उनले भने, “हामीले कुनै पनि टोलीलाई सजिलो ठानेका छैनौं। हामीले आज जसरी खेलेका छौं। प्रत्येक खेलमा यसरी नै मेहनत गर्नेछौं।”

पछिल्लो २ संस्करणको विश्वकपमा छनोट हुन नसकेपछि उमेर समूहको टोली कमजोर हुन थालेको चिन्ताहरु प्रकट भएको थियो।

तर गत वर्ष नेपाल छनोट प्रतियोगिताको च्याम्पियन बन्दै विश्वकपमा छानिएपछि टोलीमाथि क्रिकेट अधिकारीहरुले आशा राखेको थियो।

वांग्लादेशमा भइरहेको प्रतियोगितामा ९ वटा टेष्ट राष्ट्रसहित कुल १६ राष्ट्रले सहभागिता जनाइरहेका छन्।

-बीबीसी नेपाली

Previous articleसिमाना नियन्त्रण गर्न ग्रीस असफल: इयू
Next articleएनआरएनएद्वारा झण्डै १ करोड ६० लाख रुपैयाँको जीवनरक्षक औषधि प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here