जुरीख। स्विट्जरल्याण्ड र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा द्विपक्षीय व्यापार, लगानी तथा व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले ‘स्विस नेपाल बिजनेस कनेक्ट २०२६’ आयोजना हुने भएको छ।
नोभेम्बर १९, २०२६ बिहीबार जुरीखस्थित Switzerland Global Enterprise को कार्यालयमा आयोजना हुने कार्यक्रममा डिजिटल प्रविधि तथा नवप्रवर्तन र दिगो पर्यटन गरी दुई प्रमुख क्षेत्रलाई प्राथमिकता दिइनेछ।
कार्यक्रममा नेपालको डिजिटल अर्थतन्त्र, आईसीटी सेवा, सफ्टवेयर विकास, फिनटेक, साइबर सुरक्षा तथा डिजिटल आउटसोर्सिङका अवसरबारे छलफल हुनेछ। त्यसैगरी पर्यटन, होटल तथा आतिथ्य सेवा, पर्वतीय पर्यटन, सीप विकास, प्रविधि र वातावरणमैत्री पर्यटनमा स्विस तथा नेपाली व्यवसायीबीच सहकार्यका सम्भावना खोजिनेछ। नेपाली व्यवसायीहरूको प्रतिनिधिमण्डलसमेत सहभागी हुनेछ।
कार्यक्रममा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिएले म्युलीको भिडियो सन्देश तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत रामप्रसाद सुवेदीको सम्बोधन रहनेछ। स्विस नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष टिजियानो लाविजारी, Switzerland Global Enterprise की दीप्ति शर्मा तथा नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष खेम लकाईलगायतले आ–आफ्नो धारणा तथा प्रस्तुति राख्नेछन्।
Switzerland Global Enterprise र Swiss Nepal Chamber of Commerce को आयोजनामा तथा जेनेभास्थित नेपालको स्थायी नियोगको सहकार्यमा हुन लागेको यस कार्यक्रममा स्विट्जरल्याण्ड र लिक्टेन्स्टाइनका साना तथा मझौला उद्यमी, लगानीकर्ता र व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ।
कार्यक्रम विवरण:
मिति: १९ नोभेम्बर २०२६
समय: दिउँसो ४ देखि बेलुका ८ बजेसम्म
स्थान: Switzerland Global Enterprise, Stampfenbachstrasse 85, 8006 Zürich
दर्ताको अन्तिम मिति: १२ नोभेम्बर २०२६, साँझ ६ बजे।



