सहज फाउन्डेशन मैतीदेवी, काठमाडौँले जाजरकोटको भेरी नगरपालिका–२ र ३ का बाढीपहिरो प्रभावित करिब ३०० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
गत साउन ३० गतेको बाढीपहिरोबाट प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले फाउन्डेशनले कात्तिक १६ गते भेरी नगरपालिका–२ को रिसाङ र वडा नं. ३ को स्याँलास्थित सामुदायिक विद्यालयहरूमा कापी तथा अन्य स्टेसनरी सामग्री वितरण गरेको हो।
गत भदौ ६ गते एक राष्ट्रिय दैनिकमा ‘बाढी प्रभावित विद्यार्थीका कापीकिताब पहिरोमा पुरिए’ शीर्षकको समाचार प्रकाशित भएपछि सहज फाउन्डेशनले प्रभावित बालबालिकालाई सहयोग गर्न पहल गरेको थियो। भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्ट र स्थानीय पत्रकार सरोज वलीसँगको समन्वयमा करिब ३०० विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष डा. हरिकृष्ण बाँस्कोटाले जानकारी दिए।
उनका अनुसार विष्णु प्राथमिक विद्यालय, नरज्योति प्राथमिक विद्यालय र त्रिभुवन आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा जाजरकोटका संघीय सांसद खड्कबहादुर बुढा, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, सम्बन्धित वडाका वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रममा सांसद बुढाले विपद्बबाट प्रभावित बालबालिकाको शैक्षिक निरन्तरताका लागि सहयोग गरेको भन्दै सहज फाउन्डेशनप्रति आभार व्यक्त गरे। उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
सहज फाउन्डेशनले सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र शैक्षिक अवसर विस्तारका लागि स्थानीय समुदाय तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।





