बारा, कोल्हबी। स्थानीय किसानको आय आर्जन वृद्धि, पारिवारिक पोषण सुधार तथा महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले बाराको कोल्हबी नगरपालिकाका १०० जना किसानलाई हिउँदे तरकारीका विभिन्न छ प्रकारका बीउ वितरण गरिएको छ।
सहज फाउन्डेसन र रोटरी क्लब अफ डिल्लीबजार, काठमाडौंको सहकार्यमा रोटरी सामुदायिक समूह (Rotary Community Corps—RCC) को पहलअन्तर्गत कोल्हबी नगरपालिका क्षेत्रका ककडी र जुआवाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो। स्थानीय स्तरमै तरकारी उत्पादन बढाई घरायसी उपभोगका साथै अतिरिक्त उत्पादन बिक्रीबाट किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
रोटरी सामुदायिक समूहका अध्यक्ष तथा कोल्हबी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष किशुन दयाल चौधरीले रोटरी क्लब अफ डिल्लीबजार र सहज फाउन्डेसनको सहयोगले स्थानीय किसान, विशेषगरी महिला किसानलाई तरकारी खेतीमार्फत आयआर्जन गर्न प्रोत्साहन मिल्ने बताउनुभयो। उहाँले समुदायको आवश्यकता पहिचान गरी स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने यस्ता कार्यक्रमले ग्रामीण समुदायको जीवनस्तर सुधारमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
यस पहलले स्थानीय परिवारलाई आफ्नै बारीमा मौसमी तरकारी उत्पादन गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। घरमै उत्पादन भएको तरकारी उपभोग गर्दा परिवारको खाद्यान्न खर्च घट्नुका साथै अतिरिक्त उत्पादन स्थानीय बजारमा बिक्री गरेर थप आम्दानी गर्न सकिनेछ। विशेषगरी महिला किसानलाई कृषि उत्पादन र बजारसँग जोड्न सके उनीहरूको आर्थिक आत्मनिर्भरता बढाउन तथा परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ।
श्री राष्ट्रिय प्राथमिक विद्यालय, ककडीकी प्रधानाध्यापिका कल्याणी चौधरीले सहज फाउन्डेसनले विगत दुई वर्षदेखि स्वास्थ्य, शिक्षा तथा महिला सशक्तीकरणका क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले रोटरी क्लब अफ डिल्लीबजारले समेत स्थानीय समुदायको विकासका लागि सहयोग विस्तार गरेकोमा खुसी व्यक्त गर्दै यस्ता पहलले समुदायको समग्र विकासमा योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रमका लागि आवश्यक बीउ खरिद गर्न रोटरी क्लब अफ डिल्लीबजारका सदस्यहरूले आर्थिक सहयोग उपलब्ध गराएका थिए। सहज फाउन्डेसनले किसानको जीविकोपार्जन सुधार गर्ने यस अभियानमा आर्थिक योगदान पुर्याउने क्लबका सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
स्थानीय आवश्यकता, जनसहभागिता र संस्थागत सहकार्यमा आधारित यस कार्यक्रमले किसानको श्रम तथा उत्पादन क्षमतालाई आर्थिक अवसरसँग जोड्ने लक्ष्य राखेको छ। कृषि उत्पादन वृद्धि, महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउन सके ग्रामीण समुदायलाई आत्मनिर्भर बनाउने आधार थप बलियो हुन सक्छ।
स्थानीय नेतृत्व, समुदाय र सहयोगी संस्थाबीचको सहकार्यबाट सञ्चालन हुने यस्ता साना तर प्रभावकारी पहलले किसानको आयआर्जन वृद्धि गर्नुका साथै परिवारको जीवनस्तर सुधार र दिगो सामुदायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






