बेर्न। नेपाली चिकित्सक डा. विनयकुमार श्रेष्ठ स्विट्जरल्याण्डको थुनस्थित रेडियो-अन्कोलोजी बेर्नर ओबरल्यान्ड एजीको चिकित्सकीय प्रमुख नियुक्त भएका छन्। उनको नियुक्ति सन् २०२६ नोभेम्बर १ देखि लागू भएको हो। उनले संस्थामा १८ वर्षसम्म चिकित्सकीय नेतृत्व प्रदान गरी अवकाश लिँदै गरेका डा. पिटर एम. मेसरको स्थान लिएका छन्।
यसअघि डा. श्रेष्ठ बर्नस्थित इनसेलस्पितालको विकिरण क्यान्सर चिकित्सासम्बन्धी विश्वविद्यालय क्लिनिकमा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत थिए। सन् २०२० देखि उक्त जिम्मेवारीमा रहेका उनले यसअघि विन्टरथुरस्थित क्यान्टोनल अस्पताल र ज्युरिख विश्वविद्यालय अस्पतालमा समेत काम गरिसकेका छन्।
नेपालमा चिकित्सा शिक्षा हासिल गरेका डा. श्रेष्ठले स्विट्जरल्याण्डको बर्न विश्वविद्यालयबाट बायोमेडिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनले सन् २०१६ मा रेडियो-अन्कोलोजीमा स्विस विशेषज्ञ चिकित्सकको उपाधि प्राप्त गरेका थिए भने सन् २०२१ मा बर्न विश्वविद्यालयबाट डक्टरेट हासिल गरेका थिए।
विकिरणको प्रयोगबाट क्यान्सरको उपचार गरिने रेडियो-अन्कोलोजी क्षेत्रमा डा. श्रेष्ठसँग व्यापक चिकित्सकीय अनुभव रहेको संस्थाको विवरणमा उल्लेख छ। विकिरण उपचारका विभिन्न विधामा दक्षता, विभिन्न विशेषज्ञताका चिकित्सक तथा संस्थाहरूसँगको सहकार्य र विविध स्वास्थ्य संस्थामा काम गरेको अनुभवलाई उनको नियुक्तिका प्रमुख आधारका रूपमा उल्लेख गरिएको छ।
रेडियो-अन्कोलोजी बेर्नर ओबरल्यान्ड एजी सन् २००७ मा थुनस्थित अस्पतालमा स्थापना भएको संस्था हो। सन् २००८ देखि स्पिताल एसटीएस एजी, इनसेल ग्रुप एजी र स्पितालर एफएमआई एजीको संयुक्त सहकार्यमा सञ्चालित यस संस्थाले बेर्नर ओबरल्यान्ड क्षेत्रका क्यान्सरका बिरामीलाई स्थानीयस्तरमै गुणस्तरीय विकिरण उपचार सेवा उपलब्ध गराउँदै आएको छ।
संस्थाको स्थापनाकालदेखि चिकित्सकीय नेतृत्व सम्हालेका डा. मेसरले यसको विकास र क्षेत्रीय विकिरण उपचार सेवाको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। इनसेलस्पितालको सम्बन्धित विश्वविद्यालय क्लिनिकले उनको दीर्घकालीन योगदान र सहकार्यप्रति आभार व्यक्त गर्दै डा. श्रेष्ठलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
चिकित्सकीय सेवासँगै डा. श्रेष्ठ नेपाली समुदाय र स्वास्थ्यकर्मीहरूको व्यावसायिक सञ्जालमा पनि सक्रिय छन्। उनी गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डका पूर्वअध्यक्ष तथा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वसदस्य हुन्। सन् २०२४ देखि उनी युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ को अध्यक्ष छन्।
नेपालमा चिकित्सा शिक्षा हासिल गरी स्विट्जरल्याण्डमा विशेषज्ञता र अनुभव प्राप्त गरेका डा. श्रेष्ठको यो नियुक्ति नेपाली समुदायका लागि पनि गौरवको विषय हो।



