स्विट्जरल्याण्ड। पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले २०२६ यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै इतिहास रचेको छ। हंगेरीको राजधानी बुडापेस्टस्थित पुस्कास एरेनामा आज शनिबार भएको रोमाञ्चक फाइनलमा पीएसजीले आर्सनल लाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै लगातार दोस्रो पटक युरोपको सबैभन्दा ठूलो क्लब फुटबल उपाधि जित्यो।
खेलको सुरुआतमै आर्सनलले अग्रता लिएको थियो। जर्मन स्ट्राइकर काइ हाभर्ट्जले ले छैटौँ मिनेटमा गोल गर्दै लन्डन क्लब आर्सनललाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि पीएसजीले लगातार दबाब सिर्जना गरिरह्यो र दोस्रो हाफको ६५औँ मिनेटमा उस्मान डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले विजयी गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। तनावपूर्ण सुटआउटमा आर्सनलका डिफेन्डर गाब्रिएल मगल्हाइसको प्रहार असफल भएपछि पीएसजी विजयी बन्यो।
यो जितसँगै पीएसजी च्याम्पियन्स लिगमा लगातार दोस्रो पटक युरोपको च्याम्पियन बनेको छ। फ्रान्सेली क्लब पीएसजीले गत वर्षको सफलता दोहोर्याउँदै युरोपेली फुटबलमा आफ्नो प्रभुत्व कायम राखेको छ।
यता आर्सनलका समर्थकहरू हारका बाबजुद टोलीको प्रदर्शनप्रति गर्वित देखिएका छन्। क्लबले यस सिजन प्रिमियर लिग उपाधि जित्नुका साथै २० वर्षपछि च्याम्पियन्स लिग फाइनलसम्मको यात्रा तय गरेको थियो।



