लण्डन प्रहरीले ‘पोन्जी’ भनिने एक लगानी ‘स्किम’ अन्तर्गत ५ करोड पाउण्ड ठगी भएको आशंका गरेको छ।

लण्डन शहरको प्रहरीको भनाइमा केही पीडितहरुले आफूहरुले ‘पोन्जी’ खेलमा हजारौं वा दशौं लाख पाउण्ड लगानी गरेको हुनसक्ने कुरा थाहा भएको छ।

‘पोन्जी’ लगानी ‘स्किम’ अन्तर्गत विभिन्न लगानीकर्ताबाट उठाइएको रकमको मुनाफा गैरकानूनी तरिकाले लगानीकर्ताहरुलाई बाडिन्छ।

प्रहरीले लण्डनको विदेशी मुद्रा सटही गर्ने कम्पनी ‘क्यापिटल वर्ल्ड मार्केट’को अनुसन्धान गर्ने क्रममा १४ जनालाई पक्राउ गरेको छ।

लण्डन प्रहरीको विश्वास छ, करिब ४ सय ५० पूर्व गोर्खा सैनिक परिवारजन वा नेपाली समुदायका सदस्यले ‘पोन्जी’मा लगानी गरेका छन् तर त्यसबारे प्रहरीलाई उजुरी गरेका छैनन्।

‘सानो हिस्सा’

एक प्रहरी अधिकृत डेभ म्यानलेले निकै थोरै लगानीकर्तामात्रै उजुरी गर्न अघि सरेको बताए।

उनले भने,“त्यो निकै ठूलो लगानीकर्ता समुदायको निकै सानो हिस्सा मात्र हो।”

उनले भने, “यसबारे थप अनुसन्धान नगर्नु र लगानी गर्ने समुदायमा परेको असर र नोक्सनीलाई समेटर मुद्दा अघि नबढाउनु निकै लाजमर्दो कुरा हुनेछ।”

प्रहरीले सन् २०१४ को अक्टोबरदेखि प्रति महिना ५ प्रतिशत व्याज दिने प्रलोभन देखाइ रकम उठाउने काम गरिरहेको ‘क्यापिटल वर्ल्ड मार्केट’माथि अनुसन्धान जारी राखेको छ।

गोर्खा वेलफेयर ट्रस्टका ग्यारी घलेले यति ठूलो संख्यामा गोर्खा र नेपाली समुदायका सदस्य यस्तो आर्थिक ‘स्किम’मा सहभागी भएको उनले पहिलो पटक सुनेको बताए।

उनले साथी र इष्टमित्रको सरसल्लाहमा नेपाली समुदायका सदस्यले त्यो ‘स्किम’मा लगानी गरेको हुनसक्ने बताए।

उनले भने,“अब हामी कोही पीडित छन् भने प्रहरीलाई उजुरी गर्न भन्नेछौं।”

लण्डन प्रहरीले ९ महिना अघि त्यस सम्बन्धमा अनुसन्धान गर्ने क्रममा तीन महिला र १० पुरुषलाई पक्राउ गरेको थियो।

तिनीहरुलाई सोधपुछ पछि मार्चसम्मको लागि धरौटीमा रिहा गरिएको थियो।

-बीबीसी नेपाली

Previous articleनेका १३ औ महाधिवेशनको लागी प्रतिनिधिहरु चयन गर्दै
Next articleनेदरल्याण्ड्सबाट नेपाली राष्ट्रिय गित उत्तर तिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here