बारा,
रोटरी क्लब अफ डिल्लीबजारले बाराको कोल्हबीस्थित ककडी गाउँमा सामुदायिक विकास, शिक्षा, स्वास्थ्य तथा स्थानीय जनजीविकाको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।
क्लबको उक्त कार्यक्रम अन्तरगत क्लबले हालै स्थलगत भ्रमण गरी स्थानीय समुदायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे।
असोज १८ देखि २० गतेसम्म सञ्चालित उक्त भ्रमणका क्रममा स्थानीय समुदायका आवश्यकता पहिचान गर्नुका साथै रोटरी कम्युनिटी कोर्प्स (Rotary Community Corps) RCC गठन तथा भावी सामुदायिक विकासका कार्यक्रमबारे छलफल गरिएको थियो।
भ्रमणको मुख्य उद्देश्य स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सर्वसाधारणसँग सहकार्य गर्दै दीर्घकालीन रूपमा सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्नु र स्थानीय आवश्यकतामा आधारित परियोजना अघि बढाउनु रहेको थियो। यस क्रममा बाराको काकडीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयका २४० जना विद्यार्थीलाई कापी तथा शैक्षिक सामग्री वितरण गरी बालबालिकाको शिक्षामा सहयोग पुर्याइएको थियो। उक्त सहयोगमा रोटरी क्लब डिल्लीबजार, सहज फाउण्डेसन, जिएमपी फाउण्डेसन लगायतको सहकार्य रहेको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सुजिता अधिकारी पोखरेल, पूर्वअध्यक्ष युवराज अधिकारी, सर्भिस प्रोजेक्ट चेयर डा. हरि बास्कोटा, रोटरियन सुरेन्द्र ढकाल तथा स्पाउस शम्भु पोखरेलको उपस्थिति रहेको थियो। भ्रमण टोलीले स्थानीय समुदायका अगुवा तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै समुदायका प्राथमिक आवश्यकता पहिचान, रोटरी कम्युनिटी कोर्प्स (RCC) गठन तथा शिक्षा, स्वास्थ्य, कृषि र महिला सशक्तीकरणका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेको थियो।
भ्रमण टोलीले निजगढस्थित तिलगंगा सामुदायिक आँखा अस्पतालको अवलोकन गरी विद्यालय तथा समुदायमा आधारित आँखा परीक्षण, चस्मा वितरण र मोतिबिन्दुको शल्यक्रिया सहितका कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावनाबारे समेत छलफल गरेको थियो। यसबाट ग्रामीण तथा समुदायका नागरिकलाई आधारभूत आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, स्थानीय समुदाय तथा विद्यालयमा सञ्चालित ट्युसन कक्षाहरूको अवलोकन गरिएको थियो। विद्यालयको खानेपानी प्रणाली र प्रवेशद्वार मर्मत, नवनिर्मित कक्षाकोठालाई आवश्यक सुविधा सहित सञ्चालन योग्य बनाउने तथा सामुदायिक शिक्षालाई थप प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
भ्रमणका क्रममा सहज फाउन्डेसनले सञ्चालन गरिरहेका सामुदायिक विकासका कार्यक्रमहरूको समीक्षा गर्नुका साथै स्वरोजगार शिक्षा कार्यक्रम (Self-Employment Education Program—SEEP) मा सहभागी महिलाहरूसँग अन्तरक्रिया गरिएको थियो। महिलाको आयआर्जन, सीप विकास तथा आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरेन्द्र ढकाल फाउन्डेसनबाट उक्त कार्यक्रमका लागि आर्थिक सहयोग हस्तान्तरण समेत गरिएको थियो।
भ्रमण तथा समुदायसँगको छलफलबाट आगामी आठ महिनाका लागि विभिन्न कार्यक्रम समेटिएको कार्ययोजना तयार गरिएको छ। कार्ययोजनाअनुसार १ सय जना किसानलाई करिब ४० हजार रुपैयाँको लागतमा सात प्रकारका बीउ वितरण गर्ने योजना रहेको छ । यस पहलले स्थानीय परिवारलाई तरकारी खेतीमा प्रोत्साहन गर्नुका साथै घरायसी उपभोग र आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै सहज फाउन्डेसनको सहयोगमा आगामी छ महिनासम्म सामुदायिक ट्युसन कक्षा सञ्चालन गर्ने तथा विद्यालयको खानेपानी प्रणाली र प्रवेशद्वार मर्मत गर्ने योजना रहेको छ।
यसका अतिरिक्त तिलगंगा सामुदायिक आँखा अस्पताल र सहज फाउन्डेसनसँगको सहकार्यमा विद्यालय तथा समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, निजगढस्थित आँखा अस्पतालमा शल्यक्रियापछि २४ घण्टासम्म बस्नुपर्ने बिरामीका लागि आश्रयस्थल निर्माण गर्न सहयोग जुटाउने तथा जगुया क्षेत्रको वडा नं. ३ मा स्वरोजगार शिक्षा कार्यक्रम विस्तार गर्ने योजना पनि कार्ययोजनामा समेटिएको छ।
रोटरी कम्युनिटी कोर्प्स (RCC) को पहल मार्फत स्थानीय समुदायलाई आफ्नै विकास प्रक्रियामा सहभागी गराउँदै शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरतालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ। रोटरी क्लब अफ डिल्लीबजार, सहज फाउन्डेसन, सुरेन्द्र ढकाल फाउन्डेसन तथा स्थानीय सरोकारवाला बीचको सहकार्यले समुदायको आवश्यकता पहिचान गरी दिगो विकासका कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समुदायको वास्तविक आवश्यकता पहिचान गर्ने, स्थानीय सहभागिता बढाउने र साझेदारीमार्फत दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित अघि बढाइएको यस पहलले बाराको कोल्हबी क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।












