नेपाली कम्युनिष्ट पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्य संयोजन समितिको छैठौँ बैठकले आगामी कार्तिक र मंशिर महिनामा पार्टीको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्य संयोजन समितिको छैठौँ बैठक पश्चात् पार्टीको निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी गराइएको छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ :
आज मिति २०८३ असोज २३ गते नेपाली कम्युनिष्ट पार्टी, केन्द्रीय कार्य संयोजन समितिको छैटौं बैठक पार्टीका केन्द्रीय संयोजक क। पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता तथा सहसंयोजक कमरेड माधवकुमार नेपालको सञ्चालनमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भयो । बैठकमा समसामयिक राष्ट्रिय परिस्थिति र पार्टीको आगामी कार्यभारका सन्दर्भमा संयोजक र सहसंयोजक कमरेडहरूले सम्बोधन गर्नुभयो ।
बैठकले निम्न महत्वपूर्ण निर्णयहरू गरेको छ :
१. पार्टीले कार्तिक र मंसिर महिनामा “राष्ट्रिय जागरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको उद्घाटन कार्तिक ७ गते बृहत् पत्रकार सम्मेलनसहित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिनेछ, र उक्त अभियान मंसिर २५ गते सम्पन्न हुनेछ । यो अभियान पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीको रूपमा सञ्चालन गरिने छ । अभियान अन्तर्गत : पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा संगठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने, संगठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने, पार्टीका बैठक भेला, प्रशिक्षण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, जनता र पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउन जनता केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, सांस्कृतिक लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने, जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेश गर्ने र कार्यान्वयनका लागि पहल गर्ने, श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने, विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यहरूमा सहयोग गर्ने लगायतका जनसम्बन्ध तथा संगठन सुदृढीकरणका कार्यक्रमहरू सञ्चालन हुनेछन् । अभियानमा केन्द्रदेखि स्थानीय समितिसम्मको सिङ्गो पार्टीपङ्क्ति परिचालित हुनेछ । बैठकले अभियान सञ्चालन कार्यबिधि तथा कार्ययोजना पारित गरेको छ ।
२. पार्टी केन्द्रीय समिति, केन्द्रीय कार्य समिति र केन्द्रीय सचिवालयका बैठकहरू अभियान सम्पन्न पश्चात मंसिर महिनाको अन्तिम साता आयोजना गरिनेछ ।
३. आगामी पौष ११ गते देशभरिका सम्पूर्ण वडाहरूमा एकै दिन पार्टीका वडा अधिवेशनहरू आयोजना गरिनेछ र माघ १५ गते देशभरिका सम्पूर्ण पालिकाहरू (महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका) मा एकै दिन पार्टीका पालिका अधिवेशनहरू आयोजना गरिनेछ ।
४. अमेरिकाबाट प्रकाशित हुने ’ग्रे जोन’ लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो संवेदनशील विषयमा तत्काल सत्य तथ्य सार्वजनिक गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ ।
५. बैठकले बडादशैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरूको अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गरेको छ ।
६. बैठकले लामो समय जेल जीवन बिताउनु भएका कम्युनिष्ट नेता क. घनेन्द्र बस्नेत, हाम्रो पार्टी केन्द्रीय अनुशासन आयोगका सचिव क। अशोक रोकाय ‘संकल्प’, केन्द्रीय अनुशासन आयोगका सदस्य विजयबाबु बनबासी तथा केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरू क। पूर्णबहादुर गुरुङ र बौएलाल महतोको दुःखद निधन भएकोमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने शोक प्रस्ताव पारित गरेको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।



