आज नाग पञ्चमी पर्व, नेपाली हिन्दू परम्परा अनुसार नागको पूजा गरी घरको मूल ढोकामा टाँसेर मनाइँदै छ ।
आज श्रावण शुक्ल पञ्चमी तिथीको दिन नेपालीहरुले नागको प्रतीक स्वरुपको नागको पूजा गरी आ आफ्नो घरमा टाँसेपछि आजको दिन खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
हिन्दू परम्परा अनुसार घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
नाग पञ्चमी पर्वका अवसरमा आज बिहानैदेखि काठमाडौंको नागपोखरी लगायत चोभार टौदह, भक्तपुरको सिद्धपोखरीका साथै देशभरका अन्य बिभिन्न नागदह, कुण्ड र नाग स्थानहरुमा नागको विशेष पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने प्रचलन रहेको छ । साथै आज बिहानैदेखि नागपोखरी लगायतका स्थानहरुमा मानिसहरुको घुइँचो लागेको छ ।



