युरोपमा सक्रिय नेपाली सांगीतिक ब्यान्ड ‘सुभाष एन्ड द फ्यामिली’ ले आफ्नो नयाँ गीत ‘सोधन’ सार्वजनिक गरेको छ।
लामो समयदेखि यूरोपको नेपाली समुदायमा आफ्नो छुट्टै साँगितीक छाप छोड्न सफल नेपाली सांगीतिक ब्यान्ड ‘सुभाष एन्ड द फ्यामिली’ ले नेपाली संगीतका पारखीहरुलाई लक्षित गर्दै सार्वजनिक गरेको गीतले प्रेम, भावना र सांगीतिक प्रस्तुतिको माध्यमबाट श्रोता माझ नयाँ स्वाद पस्किएको हाे।
गीतमा सुभाष सुन्दास र सलिना वि.क. ले स्वर दिएका छन् भने सलोनी कार्की र प्रबिन पोखरेल कलाकारका रूपमा प्रस्तुत भएका छन्। गीतको शब्द तथा संगीत सुभाष एन्ड द फ्यामिली ब्यान्डले तयार गरेको हो भने रोमन बज्राचार्यले संगीत संयोजन गरेका छन्।
गीतमा रामु परियारले गिटार र प्रभात नेपालीले ड्रम्समा साथ दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ WIP Studio 5 ले गरेको हो।
युरोपमा रहेर नेपाली संगीतलाई निरन्तर अघि बढाउँदै आएको सुभाष एन्ड द फ्यामिलीले ‘सोधन’मार्फत आफ्नो नयाँ सांगीतिक प्रस्तुति श्रोतामाझ ल्याएको हो। गीत सार्वजनिक भएसँगै ब्यान्डले संगीतप्रेमीहरूलाई गीत सुन्न, मन परेमा लाइक तथा सेयर गर्न र कलाकारहरूलाई निरन्तर साथ तथा समर्थन गर्न आग्रह गरेको छ।




