अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बिभिन्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुका बीच छलफल भएको छ ।
सोमबार अर्थमन्त्रीसँग भएको छलफलमा बिभिन्न २० ठूला करदाता कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
छलफलमा सहभागी कम्पनीहरुमा सूर्य नेपाल प्रा.ली., गोर्खा ब्रुअरी, एनसेल, हिमालय एयरलाइन्स, टर्की एयरलाइन्स, डाबर नेपाल, युनिलिभर नेपाल, होङसी सिमेण्ट, बोटलर्स नेपाल तराइ, डुसान इनरएबिलिटी, एशियन पेन्ट्स, पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना, ह्वासिन सिमेण्ट, न्यू होप एग्रो बिजनेस नेपाल, गोर्खा लाहारी, नारायणी प्रा.लि., बरुण वेभरेज, भोटेकोशी पाउर कम्पनी, नेपाल वेलहोप एग्रीटेक, बर्जर जोन्सन एण्ड निकोल्सन नेपाल
आदि रहेका थिए ।
नेपालमा लगानी गरेका ठूला कम्पनीहरुसँगको छलफलमा अर्थमन्त्री वाग्लेले खास गरी आ.व. २०८३ ८४का लागि सरकारद्वारा विनियोजित बजेटमा केन्द्रीत रहेर छलफल गरेका छन् । छलफल कै क्रममा मन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरुलाई बजेटले दिएका सुविधाहरु, लगानीकर्ताले भोगिरहेका समस्याहरु, लगानी बिस्तार, रोजगारी सिर्जना लगायतका विषयमा बिस्तृत छलफल गर्दै सरकारका तर्फबाट हुनु पर्ने सहजिकरणका लागि आवश्यक विषयहरु लिखित रुपमा पेश गर्न समेत सुझाएका छन् । त्यसैगरी अर्थमन्त्रीले बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानी मार्फत नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएकोमा सम्मान पनि व्यक्त गरे ।
आर्थिक क्षेत्रका बिभिन्न सरोकारवालाहरुसँगको छलफलबाट एउटा साझा निष्कर्ष निस्किएको बताउँदै अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन, यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्ने बताउँदै नेपालमा अझै ठूलो परिमाणमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरे ।
फाेटाे साभारः सामाजिक सञ्जाल



