नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वीटजरल्याण्डमा 𝐍𝐑𝐍𝐀–𝐍𝐂𝐂 𝐒𝐰𝐢𝐭𝐳𝐞𝐫𝐥𝐚𝐧𝐝 तीज उत्सव २०२६ आयोजना हुने भएको छ ।
गैर आवासीय नेपाली संघ (NRNA) स्वीटजरल्याण्डको आयोजनामा आगामी सेप्टेम्बर ५ मा स्वीटजरल्याण्डको राजधानी बर्नमा उक्त कार्यक्रम हुने आयोजक संस्थाले जनाएको हो ।
नेपाल बाहिर बसेर पनि सदैव नेपाली भएर बाँच्न र रमाउन मन पराउने अनि नेपाली सँस्कृतिलाई मनैदेखि माया गर्दै आइरहेका स्वीटजरल्याण्डमा बसोबास गर्ने गैर आवासीय नेपाली दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरू बीच नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त 𝐍𝐑𝐍𝐀–𝐍𝐂𝐂 𝐒𝐰𝐢𝐭𝐳𝐞𝐫𝐥𝐚𝐧𝐝 तीज उत्सव २०२६ को आयोजना गरिएको हो ।
उक्त तीज उत्सव कार्यक्रममा उपस्थितिका लागि स्वीटजरल्याण्डबासी सम्पूर्ण नेपालीहरुलाई आयोजक संस्थाले आमन्त्रण गरेको छ । कार्यक्रमको विशेष आकर्षणको रुपमा “तीजका गीत कस्ता हुन्थे सुन”, “डाँडाघरे साइँली” लगायतका लोकप्रिय लोक तथा तीज गीतहरू मार्फत नेपाली सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका कलाकार लक्ष्मी मल्ल तथा श्रीकृष्ण बम मल्लको विशेष सांगीतिक प्रस्तुति रहने पनि आयोजकले बताएको छ ।
दिउँसो २ बजेदेखि राति ९ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा १२ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने कार्यक्रममा सहभागिताका लागि अनलाइन दर्ता शुरु भइसकेको र उक्त अनलाइन दर्ता सेप्टेम्बर ३ तारिखसम्म मात्र रहेको भए तापनि अनलाइनबाट दर्ता गर्न असमर्थहरुको सहजताका लागि कार्यक्रम स्थल मै दर्ता गर्न सक्ने व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।
अनलाइन रजिष्ट्रेशन गर्ने दर्शकहरुले अनलाइन रजिष्ट्रेशन फाराम र अनलाइन भुक्तानी गरेको प्रमाण देखाएर मात्र कार्यक्रम स्थलमा प्रवेश पाउने पनि आयोजकले जनाएको छ ।



