नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रो.डा. सुरज बहादुर थापा उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी सम्मान २०२६ द्वारा सम्मानित भएका छन् ।
स्वीटजरल्याण्डको जेनेभामा शनिबार शुरु भएको सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोप (SNHPE) को दोश्रो साधारणसभाका क्रममा डा. थापा ֞उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी सम्मान २०२६ʺ (Nepalese Health Professional of The Year Award 2026) द्वारा सम्मानित भएका हुन् । सोसाइटीका अध्यक्ष एवं कार्यक्रमका सभापति डा. विनय श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि स्वीटजरल्याण्डका लागि नेपाली राजदूत महामहिम राम प्रसाद सुवेदी र विशिष्ट अतिथि नेपलिज डाक्टर्स एशोसिएशन युकेका अध्यक्ष डा. आरती थापाले संयुक्त रुपमा प्रो. थापालाई ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
प्रो. थापालाई उनले नेपालीको प्रतिनिधित्व गर्दै यूरोपमा रहेर स्वास्थ्य क्षेत्रमा गरेको योगदानका साथै उनले प्राप्त गरेको शैक्षिक एवं व्यवसायिक उपलब्धीहरु र यूरोपमा मानसिक स्वास्थ्य र मनोचिकित्साको क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानको उच्च मूल्याँकन गर्दै उक्त सम्मान गरिएको सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा नेपाली स्वास्थ्यकर्मीहरुको यूरोपेली जर्नल (European Journal of Nepalese Healthcare Professionals) को विमोचन भएको छ । अलग अलग सत्रमा सञ्चालन भएको उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रमा समेत विशेषज्ञता हासिल गरेका विभिन्न क्षेत्रका विज्ञहरुद्वारा आ आफ्नो कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।
कार्यक्रममा यूरोपभरिका नेपाली स्वास्थ्यकर्मीका साथै उनीहरुको परिवार समेतको बाक्लो उपस्थिति रहेको छ ।

Previous articleयूरोपभरिका नेपाली स्वास्थ्यकर्मी जेनेभामा भेला
Next articleओपन हर्ट सर्जरीमा डा. भट्टराईलाई अर्को सफलता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here