जेनेभा, स्वीट्जरल्याण्ड । यूरोपका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली स्वास्थ्यकर्मीहरू स्वीट्जरल्याण्डको जेनेभामा भेला भएका छन्। यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था यूरोपस्थित नेपाली स्वास्थ्यकर्मीहरूको समाजको दोस्रो साधारणसभामा सहभागी हुन उनीहरू जेनेभामा भेला भएका हुन्।

जेनेभामा आयोजना हुने साधारणसभाको उद्घाटन स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम रामप्रसाद सुवेदीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा यूरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका एक जना नेपाली स्वास्थ्यकर्मीलाई ‘उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी सम्मान–२०२६’ प्रदान गरिने भएको छ। नेपाली समुदायको प्रतिनिधित्व गर्दै यूरोपमा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि एवं मानसिक स्वास्थ्य र मनोचिकित्साको क्षेत्रमा गरेको उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।

त्यसैगरी कार्यक्रममा ‘यूरोपस्थित नेपाली स्वास्थ्यकर्मीहरूको यूरोपेली जर्नल’ अर्थात् नेपाली स्वास्थ्यकर्मीहरूको वैज्ञानिक तथा व्यावसायिक प्रकाशनको विमोचनसमेत गरिनेछ।

उद्घाटनपछि विभिन्न विषयगत सत्रमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा स्वास्थ्य तथा अन्य विविध क्षेत्रमा विशिष्टता हासिल गरेका विज्ञ तथा व्यक्तित्वहरूको महत्वपूर्ण प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा यसको महत्वलाई उजागर गर्न बेलायत तथा यूरोपका विभिन्न मुलुकबाट मात्र नभई नेपालबाट समेत विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका वरिष्ठ चिकित्सक तथा विज्ञहरूको सहभागिता रहेको छ।

कार्यक्रममा स्वीट्जरल्याण्डको क्यान्टोन अस्पताल विन्टरथुरको विकिरण क्यान्सर उपचार विभागका पूर्व प्रमुख तथा निर्देशक डा. उ. माइयर, शल्यशिक्षा नवप्रवर्तनका प्राध्यापक केनेथ वाकर, जसले दुर्गम तथा ग्रामीण क्षेत्रमा शल्यक्रियाका क्रममा मानवीय पक्ष र सुरक्षित अभ्यासका विषयमा प्रस्तुति दिनेछन्, तीन पटक सगरमाथा आरोहणसहित सात महादेशका सात सर्वोच्च हिमशिखर आरोहण पूरा गर्ने पहिलो नेपाली महिला सुस्मिता मास्के निरौला, तथा कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, जसले नेपालमा दन्त स्वास्थ्यसम्बन्धी परियोजनाका विषयमा प्रस्तुति दिनेछन्।

कार्यक्रमको समापन जेनेभास्थित नेपाली रेष्टुरेन्ट माइतीघरमा नेपाली परिकारसहितको रात्रिभोज तथा नेपाली सांगीतिक साँझका साथ गरिने आयोजकले बताएका छन्।

कार्यक्रममा यूरोपभरिबाट नेपाली स्वास्थ्यकर्मीहरूका साथै उनीहरूका परिवारजनको समेत उल्लेख्य सहभागिता रहेको छ। यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मी तथा नेपाली समुदायले कार्यक्रमलाई महत्वका साथ हेरेको एक सहभागीले बताए।

यूरोपमा रहेका नेपाली मूलका स्वास्थ्यकर्मीहरूको हकहित, व्यावसायिक विकास तथा स्तरोन्नतिका क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको यूरोपस्थित नेपाली स्वास्थ्यकर्मीहरूको समाज स्वीट्जरल्याण्डमा विधिवत् रूपमा दर्ता भई यूरोपभरि सक्रिय रहेको संस्था हो।

संस्थाले यसअघि एम्स्टर्डममा सम्पन्न सम्मेलनका अवसरमा स्विडेनमा कार्यरत प्राध्यापक डा. गणेश आचार्यलाई ‘वर्षका उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी–२०२५’ बाट सम्मान गरेको थियो। त्यस्तै, काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा एक लाख रुपैयाँ राशिको ‘यूरोप–नेपाल स्वास्थ्य पुरस्कार–२०२५’ नेपाल चिकित्सक संघलाई प्रदान गरिसकेको संस्थाले जनाएको छ।

यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूबीच आपसी सम्बन्ध, सहकार्य र ज्ञान आदानप्रदानलाई थप सुदृढ गर्दै उनीहरूको सीप, अनुभव र विशेषज्ञतालाई नेपालको स्वास्थ्य क्षेत्रसँग जोड्ने उद्देश्यले संस्थाले विभिन्न कार्यक्रम तथा पहलहरू सञ्चालन गर्दै आएको जनाएको छ।

Previous articleबीएम फाउण्डेसनद्वारा निःशुल्क आँखा शिविर सम्पन्न
Next articleउत्कृष्ट नेपाली स्वास्थ्यकर्मी सम्मान प्राध्यापक थापालाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here