काठमाडौँ,
नागरिक स्वास्थ्यमा निरन्तर क्रियाशिल बीएम फाउण्डेसन काठमाडौँले निशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।
गत शुक्रबार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं ५ मा आयोजित उक्त शिविरमा ११२ जना स्थानीयले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका हुन् ।
ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी), बीएम फाउन्डेसन तथा बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ को संयुक्त सहयोगमा आयोजित सो शिविरमा सेवाग्राहीमध्ये ७६ जना पुरुष र ३६ जना महिलाले सेवा प्राप्त गरेको बीएम फाउण्डेसनकी पब्लिक हेल्थ अफिसर स्वेच्छा मरासिनीले बताइन्। शिविरमा आँखा परीक्षण सेवा प्राप्त गर्ने मध्ये अधिकांश ज्येष्ठ नागरिक रहेको पनि मरासिनीले जानकारी दिइन् । उनले राजधानी काठमाडौँकै नगरपालिका भित्र राखिएको शिविरमा यो उपस्थितिले समुदायमा सहज र पहुँचयोग्य आँखा स्वास्थ्य सेवाको आवश्यकता अझै उच्च रहेको देखिएको पनि बताइन् ।

शिविरमा अप्ट्रोमेट्रिस्ट पूजा पण्डित, अप्थाल्मिक असिस्टेन्ट जिज्ञासा लौडारी लगायतको प्राविधिक टोली खटिएको थियो । उनीहरुका अनुसार आँखा परीक्षणका क्रममा २४ जनामा सुरुवाती तथा छिप्पिएको चरणको मोतियाबिन्दु देखिएको थियो। साथै परीक्षणका क्रममा ड्राइ आई सिन्ड्रोम (आँखा सुख्खा हुने), पिङ्गुकुला, कन्जङ्क्टिभाइटिस (रातो आँखा) लगायत अन्य सामान्य आँखा रोग तथा समस्याहरू पनि पहिचान भएका थिए। आँखा प्राविधिक टोलीले थप उपचार आवश्यक पर्ने व्यक्तिहरुलाई आवश्यक परामर्श प्रदान गर्नुका साथै उपयुक्त स्वास्थ्य संस्थामा थप उपचारका लागि सिफारिस गरेका थिए ।
शिविर शुरू हुनु अघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष कृष्ण कुमार शाहले स्वास्थ्य शिविर मार्फत समुदायका नागरिक, विशेष गरी ज्येष्ठ नागरिक र सेवा पहुँचबाट टाढा रहेका व्यक्तिहरूलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन सहकार्य गरेको भन्दै खुशी व्यक्त गरेका थिए । वडाध्यक्ष शाहले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

Previous articleभारतीय पत्रकार टोलीको काठमाडौँमा भव्य स्वागत तथा सम्मान, पर्यटन प्रवर्द्धनमा विशेष जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here