नेपालको पर्यटन प्रवद्र्धन तथा प्रचार प्रसारको मूल नारा सहित नेपाल आएका भारतीय पत्रकार टोलीलाई जिल्ला होटल व्यवसायी संघ काठमाडौँले भव्य स्वागत एवं सम्मान गरेको छ ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौँद्वारा शुक्रबार राजधानीमा आयोजित “अन्तर्राष्ट्रिय समाज गौरव सम्मान–२०२६” कार्यक्रम मार्फत भारतीय सञ्चारकर्मीहरुको टोलीलाई भव्य स्वागत तथा सम्मान गर्दै नेपाल–भारतबीच पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्य सहित नयाँ पहल अघि बढाइएको हो । एयरपोर्टस्थित होटल रोयल बुटिकमा आयोजित ‘अन्तर्राष्ट्रिय समाज गौरव सम्मान–२०२६’ कार्यक्रममा नेपाल र भारतबीच पर्यटन सहकार्य विस्तार, पर्यटकमैत्री वातावरण निर्माण तथा सञ्चार माध्यम मार्फत नेपालको पर्यटन प्रवर्द्धनलाई विश्वव्यापीकरण गर्दै भारतीय पर्यटकहरुको नेपाल आगमनलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले नेपाल आउने विदेशी पर्यटकहरु, विशेषगरी भारतीय पर्यटकको सुरक्षा, सम्मान र सहज यात्राको वातावरण सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। नेपालले ‘अतिथि देवो भवः’को संस्कृतिलाई व्यवहारमा उतारेको उल्लेख गर्दै उनले भारतीय पर्यटकले नेपाल भ्रमणका क्रममा कुनै असहजता महसुस गर्नुपर्ने अवस्था नरहेको बताए।
त्यसैगरी उनले भारत नेपालको सबैभन्दा ठूलो पर्यटन बजार भएकाले दुवै देशबीचको पर्यटन सम्बन्ध अझ सुदृढ बनाउन आवश्यक रहेको बताउँदै भारतीय सञ्चारमाध्यमलाई नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध समेत गरे। नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भूनाथ, चाँगुनारायण र लुम्बिनी जस्ता विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदास्थल भारतीय पर्यटकका प्रमुख आकर्षण रहेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले अगाडि भने, सीमा नाकादेखि सडक यात्रासम्म भारतीय पर्यटकले भोग्दै आएका कानुनी तथा व्यवहारिक समस्या समाधान गर्न सरकार गम्भीर रहेको र पर्यटन क्षेत्रका कमीकमजोरी सुधारका लागि आवश्यक पहल भइरहेको समेत जानकारी गराए। त्यसैगरी उनले भारतीय सञ्चारकर्मीबाट प्राप्त सुझावलाई पर्यटन नीति निर्माणमा समेत उपयोग गरिने बताए।
त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारीले पर्यटन उद्योग मुलुकको अर्थतन्त्रको प्रमुख आधार भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए। नेपाल–भारत पर्यटन सहकार्यबाट दुवै देश लाभान्वित हुने भएकाले सरकार र निजी क्षेत्रबीच थप समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले नेपाल र भारतबीचको धार्मिक तथा साँस्कृतिक सम्बन्ध शताब्दीयौँ पुरानो रहेको उल्लेख गर्दै धार्मिक पर्यटन, साँस्कृतिक आदानप्रदान र पर्यटन पूर्वाधार विकासमा दुवै देशले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। त्यसैगरी नेपालले पर्यटकीय गन्तव्यका हिसाबले नेपाल विश्व कै उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै नेपालमा अनुभव गर्न सकिने प्राकृतिक सुन्दरता, साँस्कृतिक विविधता, धार्मिक सहिष्णुताका साथै हरेक पाँच किलोमिटरको दूरिमा पाइने मौसमी विविधता पर्यटकका लागि अलौकिक आनन्ददायक र अनुपम हुने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप उचाइमा पुर्याउन भारतीय सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै करिब तीन हजार किलोमिटर टाढाबाट नेपाल आएर यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन तत्पर भारतीय पत्रकारलाई स्वागत गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उनले बताए।
उनले नेपालको पर्यटन उद्योगलाई थप प्रतिस्पर्धी बनाउन सरकारले नीतिगत तथा व्यवहारिक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। भारतीय पर्यटकलाई सीमा प्रवेशदेखि होटल बसाइसम्म सहज सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन, पर्यटनसँग सम्बन्धित निकायबीच समन्वय बढाउन तथा पर्यटकले प्रहरी प्रशासनबाट भोग्ने अनावश्यक झन्झट अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।
पर्यटनमैत्री वातावरण निर्माणमा निजी क्षेत्रसँगै राज्यका सबै निकायको समान जिम्मेवारी रहेको उल्लेख गर्दै बरालले पर्यटकलाई सुरक्षित, सहज र सकारात्मक अनुभव दिलाउन सके नेपाल आउने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐर, पर्यटनविद् पी.के. शेर्पा, भारतीय पत्रकार डा. जतिन्द्रपाल सिंह लगायतले नेपाल–भारत पर्यटन सम्बन्ध, धार्मिक पर्यटनको सम्भावना तथा पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकाबारे धारणा राखेका थिए।
कार्यक्रममा पर्यटनविद् एवं टानका पूर्व अध्यक्ष खुमबहादुर सुवेदी, गोरखा ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बा, होटल व्यवसायी महासंघ नेपालका प्रशासन उपाध्यक्ष ज्ञानु गजमेर, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका पदाधिकारी एवं सदस्यहरु, एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघका अध्यक्ष सरोज आले, नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकाल, बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्य बहादुर खाती, नेपाल गेस्टहाउस व्यवसायी संघ बागबजार, काठमाडौं होटल व्यवसायी संघ, सुन्धारा होटल व्यवसायी संघ, कलंकी होटल एण्ड गेष्टहाउस एसोसिएसन, लगायत विभिन्न संघसंस्थाका पदाधिकारी एवं सदस्यहरु, जिल्ला होटल व्यवसायी संघ काठमाडौँका पदाधिकारी एवं सदस्यहरु, अन्य व्यवसायी र भारतीय सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो।














