प्रधानमन्त्री बालेन्द्र शाहले मधेश केन्द्रित दलका नेताहरुसँग भेटघाट गरी छलफल गरेका छन् ।
शुक्रबार सिंहदरबारमा भएको मधेशबादी दलका नेताहरुसँगको भेटमा प्रधानमन्त्री शाहले करिब अढाई घण्टा छलफल गरेका हुन् । भेटघाटका क्रममा शुरुमा मधेशवादी दलका नेताहरुले आ आफ्ना विचार प्रस्तुत गरेका थिए । वार्ताका क्रममा नेताहरुले प्रधानमन्त्री शाहसँग धर्म निरपेक्षता र संघीयताका सम्बन्धमा प्रधानमन्त्रीको धारणा मागेका थिए । सो सम्बन्धमा प्रधानमन्त्रीको धारणा माग्नुमा विशेष गरी रास्वपाको हालै सम्पन्न महाधिवेशनमा पार्टी उपसभापति स्वर्णीम बाग्लेले राखेको प्रदेशसभा खारेजी सम्बन्धी विषय र पछिल्लो समय तराई मधेशमा जारी साम्प्रदायिक विवाद रहेको बुझिएको छ । नेताहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू सदैव संघीयताका पक्षमा रहेको बताएका छन् । त्यसैगरी उनले आफू विकेन्द्रीकरणको पक्षपाति रहेको कुरा बताएको छलफलमा सहभागी एक नेताले बताए । त्यसैगरी उनले आफू प्रदेशसभा खारेज गर्ने पक्षमा नभएको पनि स्पष्ट पारे ।
त्यसैगरी छलफलका क्रममा प्रधानमन्त्री शाहले धर्म निरपेक्षता, सनातन धर्म आदि तर्फ इंगित गर्दै भने संघीयता र सनातन फरक कुरा भएकोले यी दुबै एकै ठाउँमा रहन नसक्ने स्पष्ट पार्दै धर्मको विषयलाई राजनीतिक एजेन्डा बनाउने राजनीतिक दलहरू नै रहेको समेत उल्लेख गरे ।
शुक्रबार सम्पन्न छलफलमा मधेशबादी दलहरुका तर्फबाट नेता महन्थ ठाकुर, राजेन्द्र महतो, डा. सिके राउत, लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ, अमरेश कुमार सिंह, प्रभु साह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
दलका नेताहरुसँगको छलफल पश्चात् प्रधानमन्त्री शाहले मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग पनि छलफल गरेका छन् । उक्त छलफलमा साँसदहरु मनिष झा, रहबर अन्सारी, रविन्द्र पटेल, नितिमा भण्डारी कार्की, रविन महतो, गणेश धिमाल, राजकिशोर महतो, बिक्रम थापा, चन्दन सिंह, मोहनलाल आचार्य, गजाला शमिम मिकरानी लगायतको उपस्थिति रहेको थियो ।

Previous articleरोटरी क्लब अफ डिल्लीबजारद्वारा प्रणवानन्द आश्रमका विद्यार्थीलाई खीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here