रोटरी क्लब अफ डिल्लीबजार, काठमाडौँ कलंकी र बानेश्वरको संयुक्त आयोजनामा बृहत् बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको आह्वानमा शुरु भएको बृक्षारोपण कार्यक्रम अन्तर्गत रोटरी क्लब अफ डिल्लीबजार, रोटरी क्लब अफ काठमाडौं कलंकी र रोटरी क्लब अफ बानेश्वरको संयुक्त आयोजनामा आइतबार चन्द्रगिरी नगरपालिका–१३, कंकालिनी क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
उक्त बृहत् बृक्षारोपण कार्यक्रम अन्तर्गत आँप, कपुर, कडीपात, धुपी, लप्सि लगायतका विभिन्न प्रजातिका करिब ६ सय बिरुवा रोपिएको रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सुजिता अधिकारी पोखरेलले जानकारी दिनुभयो । उहाँले बृक्षारोपण कार्यक्रम अन्तर्गत शनिबार परेको तुलसी रोपण एकादशीका दिन पनि काठमाडौँको मैतिदेवी मन्दिर परिसरमा करिब २५० तुलसीको बिरुवा रोपण तथा वितरण गरेको बताउँदै यस कार्यक्रममा हामीले कूल ५२० बिरुवा रोप गरेको बताउनु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं कलंकीका अध्यक्ष प्रविण दवाडी, रोटरी क्लब अफ बानेश्वरका अध्यक्ष किशोर मास्के, रोटरी क्लब डिल्लिबजारका पूर्व अध्यक्षहरु, तीन वटै क्लबका रोटरियनहरु, रोट्र्याक्ट, इन्टर्याक्ट तथा परिवारका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत सञ्चालन भइरहेको १ लाख बिरुवा रोप्ने अभियानलाई सफल बनाउन उक्त बृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिस्ट्रीक्ट गभर्नर बिष्णु बहादुर कार्कीद्वारा आह्वान गरे बमोजिम नेपाल र भुटानका रोटरी क्लबहरूले सञ्चालन गरेको सप्ताहव्यापी अभियान अन्तर्गत यस वर्ष जुलाई २६ देखि अगस्त १ सम्म एक हप्ता एक लाख वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ।
रोटरी क्लब अफ डिल्लीबजारका निवर्तमान अध्यक्ष प्रेम कुमार ओलीको संयोजकत्वमा सम्पन्न उक्त बृक्षारोपण कार्यक्रम तीन वटा रोटरी क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
वृक्षारोपण सम्पन्न भएपछि सहभागीहरूले सोही क्षेत्र आसपासमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरू (कालुपाँडे डाँडामा अवस्थित कालुपाँडे समाधिस्थल, मनकामना मन्दिर, बिन्धबासिनी मन्दिर आदिको समेत अवलोकन भ्रमण गरेका थिए।






























