सुनसरीको कप्तानगञ्जमा आइतबार राति भएको घटनामा एक जनाको ज्यान गएपछि अशान्त बनेको उक्त क्षेत्र अझै पनि शान्त बन्न सकेको छैन ।
सुनसरी जिल्लाको देवानगञ्ज ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच विवाद सिर्जना भएपछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएपछि विवादले झन् उग्र रूप लिएको हो । प्रहरीको गोली लागी कप्तानगञ्जका २४ वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो । मेहताको मृत्यु पश्चात् स्थिति झन जटिल बन्दै गएको हो ।
कप्तानगञ्जमा स्थानीय बोलबम तीर्थयात्रीहरूले ठूलो आवाजमा डिजे बजाएको र झण्डा नहटाएको निहुँमा दुई समूहबीच विवाद उत्पन्न भई झडप भएको थियो । उक्त झडप अनियन्त्रित हुँदै जाँदा नेपाल प्रहरी र सशश्त्र प्रहरीले स्थितिलाई काबुमा लिन गोली चलाएको भन्ने प्रहरीको भनाइ आइरहँदा स्थानीयको भने अनावश्यक रूपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेका कारण नागरिकको मृत्यु भएको भन्ने आरोप रहेको छ ।
उता घटना घटेको समयमा प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरे र सुनसरीका एसपी केशवकुमार थेबे विदामा रहेको बताइएको छ ।
घटना पश्चात् डिआइजी घिमिरे, एसपी थेबे, सशश्त्रका एसपी, प्रमुख जिल्ला अधिकारी लगायतलाइ सरूवा गरिएको छ भने उक्त स्थानमा अन्य अधिकारीहरूलाई पठाइएको छ ।
सिडियो लगायत नयाँ सुरक्षा प्रमुखहरूले कार्यभार सम्हाले पनि सुनसरीको स्थिति अझै शान्त बन्न सकेको छैन । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसी संयुक्त सुरक्षाकर्मी परिचालन गरेर भए पनि घटनालाई नियन्त्रणमा लिने निर्णय भयो तर स्थिति अझै असामान्य नै छ । बरू अन्य जिल्लाहरूमा पिन विरोधका घटनाहरू देखिन थालेका छन् । सोमबार बेलुकीबाट नै नेपाली सेना सहितको सबै सुरक्षा निकायका टोली परिचालित भएको छ । सुरक्षाको कमाण्ड नेपाली सेनाले लिएर गस्ती गरिरहेको छ तापनि ठाउँ ठाउँमा विरोध प्रदर्शन र आगजनीका घटनाहरू भइरहेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन र विवादलाई साम्य पार्न स्थानीय सबै राजनीतिक दलहरू, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय लगायत सबैको सर्वपक्षीय छलफलको प्रयास जारी रहेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले दिएको जानकारी अनुसार आइतबार राति सोमबारको बोलबम यात्राका लागि सप्तकोशी जाने तयारीमा रहेको समूहले बजाएको डिजेको आवाजले रातिको समयमा होहल्ला भएको भन्दै अर्को समूहले विवाद शुरू गरेको र दुबै पक्ष बीच झडप भएको बताइएको छ ।







