होटल व्यवसायी महासंघ, कोशी प्रदेशले प्राकृतिक विपद्का कारण गम्भीर संकटमा परेको इलामलाई तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरी राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
होटल व्यवसायी महासंघ कोशी प्रदेशले बुधबार एक विज्ञप्ति जारी गरी यस वर्षको मनसुनको प्रभावले कोशी प्रदेशको ईलाम जिल्ला सबैभन्दा बढी प्रभावित भएको जनाउँदै तत्काल राहत उपलब्ध गराउन माग गरेको हो । महासंघका महासचिव बासुदेव बरालद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, यस पटकको वर्षायाममा समयअघि आएको मनसुन र प्रि–मनसुनका कारण मेची राजमार्ग अन्तर्गत राजदुवाली सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। जसका कारण वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको वेलासे–इलाम सडकखण्डको माइखोलास्थित पुल बाढीले बगाउनुका साथै अस्थायी कजवे पनि बग्दा इलामको आवतजावत पूर्ण रूपमा ठप्प भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छः सडक अवरुद्ध भएपछि खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा गम्भीर समस्या उत्पन्न भएको विज्ञप्तिमा जनाइएको छ। तीन दिनदेखि विद्युत् सेवा र दुई दिनदेखि खानेपानी आपूर्ति अवरुद्ध हुँदा स्थानीय बासिन्दा थप समस्यामा परेको महासंघले जनाएको छ। बिरामी अस्पताल पुग्न नसक्ने र गाउँका नागरिकले समेत उपचारबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको महासंघको भनाइ छ।

कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुग्न नसक्दा खेतबारीमै नष्ट हुने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। पर्यटक आगमन शून्यमा झरेपछि होटल, पर्यटन र यातायात व्यवसाय गम्भीर रूपमा प्रभावित भएको महासंघले जनाएको छ। व्यवसायीहरू बैंकको ऋण, ब्याज र घरभाडाको थप दबाबमा परेको भन्दै तत्काल सहजीकरण गर्न महासंघले आग्रह गरेको छ।

इलामको अवस्था सामान्य नहुँदासम्म राहत प्याकेज लागू गर्न, अत्यावश्यक सेवाको आपूर्ति सहज बनाउन र व्यवसायीलाई पलायन हुनबाट जोगाउन स्थानीय, प्रदेश र संघीय सरकारसँग महासंघले माग गरेको छ।

संकटको यस घडीमा होटल व्यवसायी महासंघ कोशी प्रदेश इलामका व्यवसायी र स्थानीय नागरिकसँग साथमा रहेको पनि विज्ञप्तिमा बताइएको छ ।

Previous articleअन्तर्राष्ट्रिय उडानका लागि पोखरा विमानस्थलको छुट योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here