पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि बिभिन्न वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न सरकारले केही शुल्कहरु छुटको योजना सार्वजनिक गरेको छ ।
सञ्चालनमा आएको लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडानहरु हुन नसकेको पोखरा बिमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई आकर्षित गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने उद्देश्यका साथ सरकारले उक्त योजना अघि सारेको हो ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरुलाई सहजिकरण गरी उडान भर्ने वातावरण बनाउने लक्षका साथ आगामी बि.सं.२०८५ सालको भाद्र महिनाको मसान्तसम्मका लागि लागु हुने गरी सरकारले विमानस्थलमा लाग्ने पार्किङ शुल्क, ल्याण्डिङ र नेभिगेसन शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको छ भने अन्य सुविधा अन्तर्गत ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ ।
बुधबारको मन्त्रिपरिषदले गरेको उक्त निर्णय पोखरामा अन्तर्राष्ट्रिय उडान भर्नका लागि र पोखरा लगायत आसपासका पर्यटकीय गन्तव्यका साथै सिंगो नेपालको पर्यटन प्रवद्र्धनका लागि सुनौलो मौका हुनुका साथै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीहरुलाई नेपालमा भित्र्याउनका लागि सहज वातावरण सिर्जना हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । साथै उहाँले ‘पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि यसबाट महत्वपूर्ण टेवा पुग्नेछ’, विश्वास व्यक्त गरे । केही समयअघि मात्र संयुक्त अरब ईमिरेट्स अन्र्तगत दुबईको सरकारी वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सेवा सुरु गर्ने निर्णय गरिसकेको छ जसले विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडान तथा पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्न समेत महत्वपूर्ण योगदान दिनेछ ।
त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई(पोखरा–दुबईको उडान तालिका स्वीकृत भएर आईस्केको र फ्लाई दुबईले दुबई पोखरा उडानका लागि टिकट बुकिङ खुला गरिसकेको बताए । उनले अगाडि थपे यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने छ ।

अन्तर्राष्ट्रिय उडान शुरु भएसँगै देश कै पर्यटकीय राजधानी घोषणा भईसकेको पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यहरुको भ्रमणका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने सरोकारवाला निकायहरुको बुझाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ महिनामा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सरकारले चालु आव २०८३र०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रीय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो ।

Previous articleप्रधानमन्त्री व्यवसायीहरुसँगको भेटघाटमा सक्रिय
Next articleइलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न होटल व्यवसायी महासंघ कोशीको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here