आम्स्टर्डम। वरिष्ठ चिकित्सक प्रा.डा. गणेश आचार्यलाई नेदरल्यान्ड्समा ‘वर्षको उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी २०२५’ सम्मान प्रदान गरिएको छ। यो सम्मान युरोपस्थित नेपाली स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल इन युरोपको पहिलो साधारण सभाको अवसरमा दिइएको हो।

डा. आचार्य स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा स्त्रीरोग तथा प्रसूति विभाग प्रमुख र भिजिटिङ प्राध्यापक छन्। उनी सन् २००१ देखि नर्वेको उत्तर विश्वविद्यालय अस्पतालमा वरिष्ठ परामर्शदाता (सीनियर कन्सल्टेन्ट) को रूपमा कार्यरत छन्।

सन् २००५ मा नर्वेमा चिकित्साशास्त्रमा पीएचडी हासिल गरेका डा. आचार्य हाल नर्वेको आर्कटिक विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र निर्देशनमा सक्रिय छन्।

नेपालका बेनेलक्स तथा युरोपियन युनियनका लागि राजदूत सेवा लम्साल र सोसाइटीका अध्यक्ष डा. बिनय श्रेष्ठले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए।डा. आचार्यले लामो सेवा र समर्पणबाट नेपाली स्वास्थ्यकर्मीहरूको गौरव बनेको बताए।

उनको यात्रा सधैं कठिनाइ र संघर्षपूर्ण रहँदै आएको थियो। सन्धिखर्कको उकाली बाटो हुँदै उनले किताब बोकेर घन्टौं हिँडेर स्कुल पुग्ने दिनदेखि, विश्वका प्रतिष्ठित अस्पतालहरूमा डाक्टर बन्ने सफलता हासिल गरेका छन्।

सन् १९८० मा सरकारले छात्रवृत्ति पाएर युक्रेनको लभिभ मेडिकल इन्स्टिच्युटमा भर्ना भएका उनले सन् १९८७ मा एमडी पूरा गरी नेपाल फर्किए। काठमाडौँका अस्पतालमा रेसिडेन्ट डाक्टर रत्रिभुवन विश्वविद्यालयबाट डिजिओं डिप्लोमा पनि हासिल गरे। पछि, उनले लन्डनको युनिभर्सिटी कलेज अस्पतालमा विशेषज्ञता हासिल गरे र अल्ट्रासाउन्डमा स्नातकोत्तर पूरा गरे।

डा. आचार्यले आफ्नो जीवनभर नेपाली समुदायप्रति समर्पण गर्दै आएका छन्। उनको परिवार पनि सधैं साथमा छ। श्रीमती, दुई छोरी र एक छोरा उनको बलियो समर्थन हुन्। जेठी छोरी अमृता आचार्य ब्रिटिश अभिनेत्री हुन् र नेपाली पहिचान विश्वभर फैलाउँदै आएकी छिन्।

Previous articleयुरोपका नेपाली चिकित्सकहरूको पहिलो सम्मेलन नेदरल्यान्ड्समा सुरु
Next articleइन्सब्रुकमा हुने भलिबल प्रतियोगितामा हिमालयन स्पोर्टस क्लब स्विट्जरल्याण्डको सहभागिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here