आम्स्टर्डम। युरोपका विभिन्न मुलुकका अस्पतालमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल इन युरोप(SNHPE) को पहिलो साधारण सभा तथा स्वास्थ्य सम्मेलन नेदरल्यान्ड्सको आम्स्टर्डममा सुरु भएको छ।

साउन २४ र २५ गते (अगस्ट ९ र १०) दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन नेपालका बेनेलक्स तथा युरोपियन युनियनका लागि राजदूत सेवा लम्सालले प्रमुख अतिथिका रूपमा गरिन्। सोसाइटीका अध्यक्ष डा. बिनय श्रेष्ठको अध्यक्षतामा भइरहेको कार्यक्रममा स्वास्थ्य क्षेत्रका विविध विषयमा डाक्टरहरूले विभिन्न सत्रमार्फत छलफल गरिरहेका छन्।कार्यक्रममा युरोपका विभिन्न देशका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

सम्मेलनकै अवसरमा ६५ वर्षीय वरिष्ठ चिकित्सक प्रा.डा. गणेश आचार्यलाई ‘वर्षको उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी २०२५’ सम्मान प्रदान गरिएको छ। डा. आचार्य स्वीडेनस्थित क्यारोलिन्स्का संस्थानमा स्त्रीरोग तथा प्रसूति विभाग प्रमुख तथा भिजिटिङ प्राध्यापकका रूपमा कार्यरत छन्।

सन् २००१ देखि नर्वेको उत्तर विश्वविद्यालय अस्पतालमा वरिष्ठ परामर्शदाता (सीनियर कन्सल्टेन्ट) का रूपमा सेवा गर्दै आएका उनले सन् २००५ मा नर्वेमै चिकित्साशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका थिए। हाल पनि उनी नर्वेको आर्कटिक विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र निर्देशन कार्यमा सक्रिय छन्। डा. आचार्यलाई प्रमुख अतिथि राजदूत लम्साल र सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन्।

 

Previous articleएनआरएनए स्विट्जरल्याण्डको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
Next articleप्रा.डा. गणेश आचार्य नेदरल्यान्ड्समा सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here