खोटाङ– खोटाङका महिला अधिकारकर्मीले जिल्ला कारागार शाखाका महिला कैदीबन्दीसँग तिज मनाएका छन्। महिला रक्षक सञ्जाल, सरकारी कार्यालय, विद्यालय लगायतमा आवद्ध महिला अधिकारकर्मीले बिभिन्न मुद्धामा जेल जीवन बिताइरहेका महिला अधिकारकर्मीसँग कारगारभित्रै तिज मनाएका हुन्।

व्यक्तिगत खर्चमा महिला अधिकारकर्मीले कैदी महिलासँग दर खाँदै नाचगान गरेका छन्। परिवार र आफन्तबाट अलग भएर कारागारमा निरासामा दिन बिताइरहेका महिलाको उत्साहका लागि जिल्लाका अधिकारकर्मीले उनीहरुसँग रमाईलो गर्दै तिज मनाएका हुन्। जिल्ला कारागारमा कर्तव्य जान, ज्यान मार्ने उद्योग, बहुबिवाह, चोरी लगायतका मुद्धामा १२ महिलाले जेल जीवन बिताइरहेका छन्। उनीहरुसँगै पाँच वर्षमुनिका बच्चाहरु कारागारमा छन्।

सुरुमा दर खाएर नाचगान गर्दै खुसीयाली मनाइएको थियो। सुरुमा नाचगानका लागि तयार नभएका कैदी महिला केही समयपछि मात्र रमाईलो गर्नका लागि खुलेका थिए। अधिकारकर्मीले ‘हामी तपाईंकै दिदिबहिनी हौँ, सँगै तिज मनाउन आएका हौँ, अप्ठ्यारो मान्न पर्दैन’ भनेपछि उनीहरुले पनि गीत गाउँदै छमछमी नाचेका थिए। कैंदी महिलाको नैराश्यता मेटाउन र उनीहरुलाई आफन्तसँगै भएको महसुस गराउनकालागि सामुहिक रुपमा तिज मनाइएको महिला रक्षक सञ्जालकी अध्यक्ष पूर्णमायाँ तामाङले बताइन्।

महिला कैदीले आश्रित चार बालकको पठनपाठनको व्यवस्थाका लागि अधिकारकर्मी समक्ष आग्रह गरेका छन्। अधिकारकर्मीसँगै कैदी महिलासँग भेटघाट गर्न कारागार पसेका सांसद पिके राईले आश्रित बालबच्चाको शिक्षादिक्षाका लागि पहल गर्ने आश्वसन दिए।

-नागरिक न्युज

Previous articleबेल्जियममा यसपालि तिजको रौनक
Next articleनबिन पौडेल र ज्योति मगरले यूएईका नेपालीहरुलाई छमछमी नचाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here