मान बहादुर के.सी ‘मुस्कान’, यूएई।हिन्दु नारीहरुको महान चाड हरीतालीका तिजको अवसरमा गैर आवासिय नेपाली संघ (एनआरएनए) र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल-खैमा क्षेत्रीय समितीले आयोजना गरेको ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रम ०२ सेप्टेम्बर २०१६ शुक्रबारका दिन रासअलखेमा स्थित मिनिस्ट्री अफ कल्चरको सरकारी थिएटर हलमा भब्यताका साथ सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएईका उपाध्यक्ष गोपी कृष्ण पङ्गेनीको सभापतित्व तथा युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अथितीहरुमा एनआरएन युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोईराला, नेपाली सोसल क्लबका अध्यक्ष सालीक सुबेदी, समाजसेवी एवम पत्रकार डिल्ली प्रसाद आचार्य तथा डा. दिनेश आचार्य लगायतको उपस्थिती रहेको थियो ।
समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायत झन्डै १ हजार भन्दा बढि दर्शकहरूको भिडले खचाखच भरिएको हलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु चर्चित गायक नबिन पौडेल, चर्चित गायिका तथा मोडेल ज्योति मगर, गायिका गंगा धर्ती मगर सँगै गोपी कृष्ण पङ्गेनी र युएईमा कार्यरत प्रशान्त पौडेल, सुर्य बहादुर बोहोरा, अर्जुन हान्छुवा, क्षितिज चिन्तन, दीपक गुरुङ, भावना ढकाल लगायत दर्जनौ कलाकारहरुले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायक नबिन पौडेलले दु:खका दिन गए, राजनीतिमा पैसा रैछ, हरेक जातजाती छौ नानाथरी जस्ता आधा दर्जन गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै स्टेजबाट तल झरेर बिशेष महिला दिदीबहिनीहरुलाई छमछमी नचाएका थिए । त्यस्तै गायिका गंगा धर्ती मगरले तीजको शुभकामना गित गाएर दर्शकको ध्यान आफु तिर खिचेकी थिन । भने गोपी कृष्ण पङ्गेनीले मायाले मन बराल्छ गीत गाउदै स्टेजको माहोल निकै तताएका थिए ।
उक्त कार्यक्रमको मुख्य आकर्षण रहेकी पछिल्लो समय स्टेज कार्यक्रमहरुमा छोटा कपडा लगाएर उत्तेजित हर्कत देखाउदै आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी गायिका तथा मोडेल ज्योति मगरको नाम लिने बित्तिकै पुरै हल सिटीले गुन्जिएको थियो, ज्योति मगरले आफ्नै अन्दाजमा उफ्री उफ्री नृत्य गर्दै पिरतिमा दम छ, जिम्माल बाउ कि छोरी, उई मुलाको सिन्की उई मुलाको चाना जस्ता आधा दर्जन गीत गाउदा उपस्थित युवाहरु त्यसै चुप लागि बस्न सकेनन् स्टेज अघाडी आएर कोहि उत्तेजित हुँदै छमछमी नाच्दै थिए भने कोहि सिटि बजाउदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु खिच्दै रमाईलो गर्दै थिए ।
उक्त ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रममा युईमा रहेर नेपाली समाजमा योगदान दिनुहुने बिभिन्न संस्था तथा ब्यक्तिहरुलाई प्रमाणपत्र तथा मायाको चिनोको (मोमेन्टो) साथमा दोसल्ला ओढाई बिशेष सम्मान गरिएको थियो ।
सम्मानित हुने ब्यक्तित्वहरुमा युएईमा रहेर नेपालमा कम्प्युटर शिक्षा अभियान चलाऊने समाजसेवी भुवन गुरुङ, एनआरएन युएईकी महिला सँयोजक कल्पना राई, देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’, मोफसलमा बसेर लामो समय पत्रकारिता गर्नुहुने समाजसेवी डिल्ली प्रसाद आचार्य, तथा सिरियाबाट नेपाली चेलीलाई उद्दार गर्न सफल पत्रकार मनोज श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई सम्मान गर्नको लागि आयोजकले नेपालबाट निम्ता गरेका थिए।
त्यसैगरी संस्थागत रुपमा सम्मानित हुने संस्थाहरुमा नेपाली समाज युएई र आशा फाउन्डेसन रहेका छन । नेपाली समाज युएई सन १९९० मा स्थापित युएईमा नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो । नेपाली समाजको तर्फबाट नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले उक्त सम्मान ग्रहण गरेका थिए ।
ब्याबस्थापनमा केहि तालमेल नमिलेर निर्धारित समय भन्दा लगभग ३ घण्टा ढिलो शुरु भएर मन्द गतिमा अघाडि बढेको सो कार्यक्रमले साँझ ६ बजे पछि आशिस पुरुष र बिना कुँवरको जोडीले संयुक्त रुपमा संचालन गर्दा भने आफ्नो स्वरुप परिवर्तन गरेको थियो । उपस्थित सबै ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रमको अवसर पारेर यसरी भेटघाट गरी नाच्न र गाउँनु पाउँदा निकै उत्साहित देखिएका थिए ।

10 7(1) 13 4

Previous articleकारागारभित्र महिला अधिकारकर्मीको तिज
Next articleपद्मश्री पुरस्कार नीलम कार्कीको चीरहरणलाई र पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here