गत वैशाख १२ गतेको महाभूकम्प पछि पीडितलाई सहयोग गर्न जुर्मुराएको हङकङ, मकाउ र चीनका नेपाली युवाहरुले शुरुवात गरेको ‘हामी उठ्ने छौं’ अभियानको काठमाडौँमा एक कार्यक्रमका विच औपचारिक उद्घाटन गर्दै अभियानले निर्माण गरेको शीर्ष भिडियो सार्वजनिक गरिएको छ। नेपाल लगायत १० मुलुकमा छायांकन गरिएको म्युजिक भिडियो राजधानीमा आयोजित कार्यक्रममा फिल्म, व्यापार, संगीत, साहित्य र सामाजिक क्षेत्रका अगुवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो।

म्युजिक भिडियो सार्वजनिक हुनु अघि अभिनेता राजेश हमाल, क्रिकेट कप्तान पारस खड्का, पूर्व मिस नेपाल सुगारिका केसी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणा, हङकङमा कराँते सिकाउने गुरु तुलसी गुरुङलगायतले ‘हामी उठ्ने छौं’ को पोष्टर एकसाथ सार्वजनिक गरेका थिए।

पोष्टर सार्वजनिक पछि अभियानले सिन्धुपाल्चोकमा गरेको सामाजिक कामको बारेमा निर्माण गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। सुब्रत आचार्यले निर्देशन गरेको वृत्तचित्रमा अभियानले सिन्धुपाल्चोकको कर्थली ७ पोखरेमा ४० दलितका लागि अस्थायी आवास निर्माण गरेको, इश्वरी माला प्राविको पुननिर्माण गरेकोलगायतका दृश्य प्रस्तुत गरिएको छ । साथै भूकम्प पीडित समुदायलाई स्वस्थ्य रहन स्वामी विकासानन्दले दिएको स्वास्थ्य टिप्स पनि वृत्तचित्रमा समेटिएको छ।

कार्यक्रममा सुब्रत आचार्यकै संयोजन र निर्देशनमा बनेको म्युजिक भिडियोमा नेपालसहित १० राष्ट्रमा त्यहीँका नेपाली समुदायले फिचरिङ गरेका छन्। सुब्रतका अनुसार एउटै राष्ट्रिय गीतलाई सर्वाधिक देशमा छायांकन गरिएको सम्भवत यो नै पहिलो म्युजिक भिडियो हो।

अभिनेता हमालले अहिलेको अवस्थामा सहयोगका लागि अन्य देश वा व्यक्तिको मुख ताक्नु भन्दा सबै नेपालीहरु जुटेर देश बनाउनु पर्नेमा जोड दिए। पत्रकार रविन्द्र मिश्रले भूकम्पका कारण देश संकटमा परिरहेका बेला विदेशमै बसेर भए पनि युवाहरुले चालेको कदम सराहनीय रहेको जनाए। कार्यक्रम हङकङ नेप्लिज तेक्वान्दो एशोसिएसनले आयोजना गरेको हो।

-साभार glamournepal.net

स्विट्जरल्याण्डबाट म्यूजिक भिडियोमा सहभागिता

नेपाल लगायत १० मुलुकमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा स्विट्जरल्याण्डका जुनिला क्षेत्रिनी, गुणराज शर्मा, छोङडुक भोटे, लोकेन राना, अर्नुन बास्ताकोटि र गोबिन्द ढकालहरु रहेको एक दृष्य समावेश गरिएको छ। उक्त दृष्यको छायांकन जुरीखमा हिरालाल श्रेष्ठले गरेका थिए।

Zürich

Previous articleएनआरएनए केन्द्रिय सचिव पदमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा
Next articleभूमिराज गुरूङको हार्दिक धन्यबाद ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here