जुरीख। नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि स्विट्जरल्याण्ड स्थित जुरीख नेपाली स्पोर्ट्स क्लबले २ हजार स्वीस फ्रान्क सहयोग गरेको छ। क्लबले उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाउँदै विपद्को घडीमा मातृभूमिका पीडित नेपालीप्रति ऐक्यबद्धता जनाएको हो।

क्लबका अनुसार बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगमा योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।

खेलकुदका माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध गर्दै आएको जुरीख नेपाली स्पोर्ट्स क्लब सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएको छ। प्रवासमा रहेर पनि नेपालमा आइपर्ने प्राकृतिक विपद्का समयमा सहयोग गर्दै आएको क्लबले यसपटक पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको हो।

तिहार मनाउने तयारी

यसैबीच, जुरीख नेपाली स्पोर्ट्स क्लबले आगामी ७ नोभेम्बर २०२६ मा तिहार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्ने उद्देश्यले तिहार कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ। कार्यक्रममा देउसी–भैलोसहित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने तयारी छ।

क्लबले स्विट्जरल्याण्डमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आपसी भेटघाट, भाइचारा र नेपाली संस्कृति लाई सामूहिक रूपमा मनाउन आग्रह गरेको छ।

Previous articleएनआरएनएको राहत अभियान  १५ औँ  दिनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here