नुवाकोट । रोटरी क्लब अफ डिल्लीबजारले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका ११ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
हालै आएको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले क्लबले नुवाकोटको विदुर नगरपालिका–११, बेतलावस्थित अस्थायी शिविरमा पुगेर राहत सामग्री वितरण गरेको हो।

बाढीबाट प्रभावित भई अस्थायी शिविरमा बस्दै आएका ११ परिवारलाई क्लबले प्रत्यक्ष रूपमा राहत सामग्री उपलब्ध गराएको हो। शुक्रबार क्लबका सदस्य रोटरियन तथा रोटर्याक्टरहरू स्वयं शिविरमा पुगेर प्रभावित परिवारहरूलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

प्राकृतिक विपत्तिका कारण आफ्नो घर, सम्पत्ति तथा दैनिक जीवनमा कठिनाइ भोगिरहेका प्रभावित परिवारहरूको अवस्थालाई मध्यनजर गर्दै उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्ने हेतूले उनीहरुलाई एउटा परिवारलाई आवश्यक पर्ने किचेनका सबै सामाग्रीहरुका साथै ओढ्ने, ओछ्याउने लगायत लत्ताकपडा समेत सहयोग गरिएको क्लबले जनाएको छ।

राहत वितरणका क्रममा रोटरियन तथा रोटर्याक्टरहरूले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी समेत लिएका थिए। विपद्को कठिन घडीमा पीडित परिवारसँग प्रत्यक्ष रूपमा जोडिएर मानवीय सहयोग प्रदान गर्नु नै रोटरीको सेवाभावको महत्वपूर्ण पक्ष भएको क्लबका प्रतिनिधिहरूले बताए।

Service Above Self अर्थात् ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने रोटरीको मूल भावनालाई आत्मसात् गर्दै प्राकृतिक विपत्ति तथा संकटमा परेका समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि क्लबले व्यक्त गरेको छ।

उक्त अवसरमा रोटरी क्लब अफ डिल्लीबजारका पूर्व अध्यक्ष सम्झना पोखरेल शाह, सागरनिधि तिवारी, उपाध्यक्ष सन्ध्या राजभण्डारी, पब्लिक इमेज चियर दामोदर नेपाल, रोटर्याक्ट अध्यक्ष सुस्मिता पंडित, सचिव जागृत दाहाल, आशिष उप्रेती, राशिका रायमाझी, सन्दिप क्षेत्री, रेजिना लेखकको उपस्थिति रहेको थियो ।
राहत वितरण पश्चात् उक्त टोलीले त्रिशुली नदीको बाढी प्रभावित नुवाकोटका इन्द्रेणीघाट, बान्द्रे, त्रिशुली बजार, ढुंगे तथा देविघाट क्षेत्रको स्थलगत भ्रमण अवलोकन समेत गरेको थियो ।
सामाजिक कार्यमा निरन्तर लागिरहेको रोटरी क्लब अफ डिल्लीबजारले आगामी दिनमा पनि विपद् प्रभावित तथा आवश्यकतामा रहेका समुदायको पहिचान गरी मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Previous articleरोटरी क्लब अफ डिल्लीबजारद्वारा विद्यार्थीलाई खेलकुद सामग्री वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here