बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उक्त सम्बोधनमा मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा प्रदेश सरकारका तर्फबाट भएका मुख्य मुख्य कार्यहरुको विवरण प्रस्तुत गरेका थिए ।
पछिल्लो राजनीतिक घटनाक्रमको विकाससँगै नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा अल्पमतमा परेका बानियाँले विश्वासको मत नलिई राजीनामा दिएको घोषणा गरेका हुन् ।
१०४ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५३ जना सांसदको समर्थन आवश्यक हुन्छ । जसमा काँग्रेसको ३६, एमालेको २५ र नेपाली कम्युनिष्ट पार्टीको २६ सिट रहेको छ भने राप्रपाको १२, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ ।


