नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग भेटघाट गरेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेनले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र
नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग छुट्टा छुट्टै भेट गरेका हुन् ।
प्रधानमन्त्री भएदेखि नै कूटनीतिक मर्यादालाई कायम गर्ने भन्दै परराष्ट्र मन्त्रालय मार्फत मात्र कूटनीतिक भेटघाट अगाडि बढाउँदै आएका प्रधानमन्त्री बालेनले अन्ततोगत्वा आफ्नै उक्त नीतिको अन्त्य गर्दै कूटनीतिक भेटघाटलाई अगाडि बढाएका छन् ।
प्रधानमन्त्री बालेनको उक्त अडान पश्चात् नेपाल जस्तो भूपेरिवेष्टित र सानो मुलुकले छिमेकमा रहेका दुई विशाल देशहरुका बीचमा कूटनीतिक अडान लिनुभन्दा पनि देशको हित हुने गरी परराष्ट्र नीतिलाई अवलम्बन गर्नु पर्ने कूटनीतिक वृत्तमा चर्चा चल्न थालेपछि बालेनले आफ्नो अडान तोडेको हुन सक्ने अड्कल गरिएको छ । यसका साथै उनले पहिलो प्राथमिकतामा दुई छिमेकी देशहरुलाई नै राख्नुलाई पनि अर्थपूर्ण ढंगले हेरिएको छ ।
कूटनीतिक भेटघाटमा देखिएका प्रधानमन्त्री बालेनले मंगलबार नेपालका लागि अमेरिकी का.वा. राजदूतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सोमबार भएको भेटमा प्रधानमन्त्री बालेनले पराराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई समेत सामेल गराएका छन् । भेट पश्चात् भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसँगको भेटघाट महत्वपूर्ण, रचनात्मक र अर्थपूर्ण भएको बताउँदै भारत र नेपालबीचको सुदृढ र बुहआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा छलफल भएको बताएका छन् । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना समेत व्यक्त गरेको बताए । त्यसैगरी भेटघाटका क्रममा प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

त्यसैगरी नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँगको भेटमा पनि नेपाल(चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ। छलफल महत्वपूर्ण भएको भन्दै राजदूत माओमिङले भने हामीले मैत्रीपूर्ण वातावरणमा द्विपक्षीय सम्बन्ध तथा व्यावहारिक सहकार्यका विषयहरू, साथै साझा चासोका विषयमा विचार आदान प्रदान गर्यौँ।
कूटनीतिक मर्यादाका आधारमा मात्र भेटघाट गर्ने अडान लिएका प्रधानमन्त्री बालेनले यसअघि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण–मध्य एसियाका लागि राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोर तथा अमेरिकी उपविदेश मन्त्री सारा बी।रोजर्ससँग भेट गरेका थिएनन् । प्रधानमन्त्रीसँग उनीहरुको भेट गराउने अमेरिकी दूतावासको कोसिस विफल भएको थियो । त्यस लगत्तै नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेनले समय नदिएपछि भ्रमण कार्यक्रम नै रद्द गरेका थिए ।

फाेटाे साभारः सामाजिक सञ्जाल

Previous articleप्रचण्डले गरे पत्रकारहरूसँग छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here