मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको उच्च जोखिम बढेको भन्दै शनिबार र आइतबार मुलुकका २३ जिल्लामा सतर्कता अपनाउन राष्ट्यि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार आज र भोलि मुलुकका कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै तराइका केही क्षेत्रहरूमा अति भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाइ आग्रह गरिएको हो ।
केही समयदेखि सक्रिय बन्दै गएको मनशुनका कारण २३ वटा भन्दा बढी जिल्लाहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको प्राधिकरणले वर्षाका कारण पाँचथर, इलाम, झापाा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा लगायतका जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको छ । साथै उल्लेखित जिल्लाहरूमा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले एक विज्ञप्ती जारी गर्दै देशका हिमाली, पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान र मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैगरी प्राधिकरणले भारी वर्षाका कारण उल्लेखित जिल्लाहरूका बिभिन्न क्षेत्रमा अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि अनुरोध गरेको छ ।




