लामो समयदेखि केयरगिभर लगिरहेको इजरायलले पुनः थप २ हजार १ सय नेपाली केयरगिभर लैजाने भएको छ ।
इजरायलमा नेपाली केयरगिभरको धेरै माग भएको जानकारी दिँदै नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले नेपालीका लागि निकट भविष्यमा उक्त रोजगारी खुल्ने बताएका हुन् ।
नेपाल र इजरायलबीच दुइ वटा प्रोटोकलमा सम्झौता हुने तयारी भएको जानकारी दिँदै राजदूत बासले घरमा आधारित केयरगिभर तथा कृषि श्रमिक सम्बन्धी दुइ पक्षीय सम्झौता हुने जानकारी दिएका छन् ।
इजरायले खोलेको केयरगिभरका लागि विभिन्न मापदण्ड तोक्नुका साथै अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र अनिवार्य गरिएको थियो । त्यसमध्ये अंग्रेजी भाषाका लागि १५ हजार ६ सय २६ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका परीक्षार्थी मध्ये १ हजार २ सय ३१ जना पास भएका थिए ।
पास भएका परीक्षार्थी मध्येबाट छनौटका लागि शुक्रबार भएको लट्री मार्फत ८ सय ३६ जना उम्मेदवारहरू छनौट भएका छन् । इजरायलको जनसंख्या तथा आप्रवासन प्राधिकरण ९पीबा० को कार्यालय जेरुसेलममा आयोजित प्रत्यक्ष प्रसारणमार्फत लट्री ड्र गरिएको थियो । प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न नेपालस्थित इजरायली राजदूत, वैदेशिक रोजगार विभागका अधिकारी, युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागितामा नेपालमा पनि प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो ।
इजरायलले नेपालीका लागि तोकेको कोटा भन्दा लट्रीबाट कम छनोटमा परेपछि बाँकी रहेका कोटा थप गरी इजरायलले २ हजार १ सय भन्दा बढी कोटा केही समयमा खुलाउने जनाएको छ । नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायल जाने नेपाली केयरगिभरहरूले इजरायली नागरिक सरह न्यूनतम तलब र सेवा–सुविधा प्राप्त गर्नेछन् ।
हाल इजरायलमा कार्यरत केयरगिभरहरूको मासिक तलब ६ हजार ४ सय ४३ इजरायली शेकेल अर्थात् करिब ३ लाख ४७ हजार नेपाली रुपैयाँ बराबर रहेको छ । आवास र खानाको व्यवस्था भने कामदार आफैले गर्नुपर्ने प्रावधान छ ।



