बागमती प्रदेश सरकारमा शुक्रबारदेखि ८ वटा मात्र मन्त्रालय कायम हुने भएपछि ६ जना मन्त्रि जिम्मेवारी बिहिन भएका छन् ।
बागमती प्रदेश मन्त्रिपरिषदको गत बैशामा बसेको बैठकले गरेको निर्णय बमोजिम यही श्रावण १ गतेदेखि लागु हुने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यायलय सहित ८ वटा मन्त्रालय कायम रहने व्यवस्था गरिएको हो । जस अनुसार १४ वटा मन्त्रालय कायम रहेकोमा शुक्रबारदेखि ८ वटा मात्र कायम हुने भएपछि बाँकी ६ मन्त्रालयका मन्त्रीहरु जिम्मेवारी बिहिन भएका हुन् ।
प्रदेश सरकारको निर्णय जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला एवं योजना मन्त्री माननीय प्रभात तामाङले शुक्रबारदेखि ८ वटा मात्र मन्त्रालयको संरचना कार्यान्वयन भएको जानकारी दिएका छन् ।
प्रदेश सरकारका अनुसार अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, उद्योग, भूमि तथा प्रशासन मन्त्रालय र सामाजिक विकास मन्त्रालय गरी ८ मन्त्रालय कायम रहनेछ ।
बागमती प्रदेशमा बि.सं. २०८१ श्रावण महिनादेखि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सञ्चालनमा छ । वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय पुनर्संरचना, कार्यविभाजन तथा मन्त्रीहरूको जिम्मेवारी सम्बन्धी सिफारिस शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पठाउने तयारी भईरहेको सरकारका प्रवक्ता तामाङले बताए । हाल बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय छन् । १४ मन्त्रालय हुँदा कांग्रेसले मुख्यमन्त्री सहित ८ र एमालेले ६ मन्त्रालयको जिम्मेवारी लिएको छ । मन्त्रालयको संख्या घटाएर ८ मात्र कायम हुँदा दुवै सत्ता साझेदार दलले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउनु पर्ने हुन्छ ।
यो निर्णय कार्यान्वयनमा आएपछि सरकारमा रहेका कांग्रेस र एमालेका ६ जना मन्त्रीको जिम्मेवारी समाप्त हुनेछ ।



