संयुक्त अबर इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा.थानी बीन अहमद अल जियोडिले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बीच मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री थानीले उक्त कुरा बताएका हुन् ।
दुबै देशका मन्त्री र उच्च अधिकारीहरू सहितको बैठकमा द्विपक्षीय व्यापार, लगानी विस्तार र आपसी सहकार्यका विविध विषयवस्तुमाथि वृहत् छलफल भएको थियो ।

समकक्षी मन्त्रीसँगको भेटका क्रममा यूएईका मन्त्री डा.थानीले नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न यूएई तयार रहेको बताएका छन् । छलफलका क्रममा मन्त्री थानीले लगानी मैत्री वातावरण निर्माण गर्न र सहकार्यको ढोका खोल्न मन्त्री यादव समक्ष आग्रह समेत गरेका छन् ।

मध्यपूर्वका देशहरु मध्ये सबैभन्दा बढी नेपालीलाई रोजगारी दिईरहेको यूएईले रोजगारीमा मात्र होइन नेपालको कृषि क्षेत्रमा लगानी गर्न समेत गहिरो रुचि देखाएको छ । छलफलका क्रममा मन्त्री डा. थानीले विभिन्न कृषि परियोजनामा लगानी भित्र्याउने वातावरण सिर्जना गर्न पनि अनुरोध गरे ।

दुई पक्षीय छलफलका क्रममा यूएईको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले नेपालको रेलवे क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गर्दै यसका लागि कानूनी र व्यवहारिक सहजताको अपेक्षा समेत गरेका छन् ।

यूएईका तर्फबाट मन्त्री सहित नेपालका लागि यूएईका राजदूत समेतको सहभागिता रहेको उक्त टोलीले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आइटीमा लगानी गर्न इच्छुक भएको बताउँदै नेपालमा ‘हरित डाटा सेन्टर’ स्थापना गर्ने योजना बनाएको र यसका लागि आवश्यक सम्पूर्ण लगानी भित्र्याउन आफूहरू तयार रहेको समेत जानकारी गराएको छ । सो अवसरमा नेपालमा उत्पादित फलफूल तथा तरकारी जस्ता ताजा कृषि उपज यूएई निर्यात गर्ने सम्बन्धमा दुवै देशबीच आपसी समझदारी कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

नेपालमा लगानीको सम्भावना प्रचुर रहेको औँल्याउँदै नेपाली उत्पादन निर्यात थप सहज र प्रभावकारी बनाउन खाद्य गुणस्तर निर्धारण र प्रमाणीकरणको क्षेत्रमा प्राविधिक सहयोगका साथै आवश्यक लगानी गर्न यूएई सकारात्मक रहेको जनाइएको छ ।

छलफलमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी उद्योगमन्त्री यादवले ‘नेपाल–यूएई व्यापार मञ्च’ लाई थप विस्तार र सुदृढ गर्न विशेष प्रस्ताव राखेकी थिइन् । यूएई पक्षले यस प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा यसबारे थप ठोस छलफल अघि बढाउने बताएको छ ।

छलफलका क्रममा मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘फ्लाई दुबई’ उडान सञ्चालन गर्न तयार भएकोमा यूएई सरकारलाई विशेष धन्यवाद दिइन् ।

नेपाल र यूएई बीचको दुई पक्षीय उच्चस्तरीय भेटवार्ताले आगामी दिनमा नेपालमा वैदेशिक लगानी भित्र्याउन सहज वातावरण बन्ने र दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।

फाेटाेः साभार सामाजिक सञ्जाल

Previous articleपूर्व न्यायाधिश र पूर्व सैनिक अधिकारीकाे सम्पत्ती छानविन तत्काल रोक्नु – सर्वोच्च अदालत
Next articleएसीसी यू १९ महिला प्रिमियर कपमा नेपालको शानदार शुरूआत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here