सर्लाहीमा आत्मदाहको प्रयास गरेका एक जना युवकलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको खबर पुग्दा नपुग्दै आज सर्लाहीमा अर्का युवकले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्लाको गोडैता नगरपालिकाका २५ वर्षीय युवक विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयासबाट गम्भीर घाइते भएको मण्डललाई नेपाली शेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो ।
आफ्नो घरभन्दा करिब २ सय मिटर जति टाढा गएर आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आत्मदाहको प्रयास हुनु अघि उनको घरमा परिवारसँग सामान्य विवाद भएको बुझिएको छ । घाइते मण्डलको अवस्था गम्भीर रहेको बताइएको छ ।



