बेर्न। गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजलाई भव्य रूपमा मनाउने तयारी गरेको छ। संघले सार्वजनिक गरेको जानकारीअनुसार ‘तीज उत्सव २०२६’ आगामी ५ सेप्टेम्बर २०२६ शनिबार स्विट्जरल्याण्डको बेर्न शहरमा आयोजना गरिने भएको छ।

आयो तीजको लहर, तीज उत्सव २०२६ आयोजना हुने कार्यक्रमले स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै थलोमा भेला गराई नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई जगेर्ना गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

एनआरएनए स्विट्जरल्याण्डका अनुसार कार्यक्रमको विस्तृत विवरण, कलाकारको सहभागिता, कार्यक्रमस्थल, समय तथा अनलाइन दर्ता सम्बन्धी जानकारी केही दिनभित्र सार्वजनिक गरिनेछ। हालका लागि आयोजकले सबै नेपाली समुदायलाई उक्त मिति आफ्नो क्यालेन्डरमा सुरक्षित राख्न आग्रह गरेको छ।

तीज उत्सव नेपाली महिलाहरूको धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई विदेशमा रहेका नेपालीहरूबीच आपसी भेटघाट, सम्बन्ध सुदृढीकरण र सांस्कृतिक आदान–प्रदानको अवसरका रूपमा पनि लिइन्छ। स्विट्जरल्याण्डमा हरेक वर्ष आयोजना हुने तीज कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत–संगीत, दर खाने कार्यक्रम तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने गरेको छ।

यस वर्षको कार्यक्रम पनि अघिल्ला वर्षहरूभन्दा अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकको भनाइ छ। कार्यक्रममा स्विट्जरल्याण्डका विभिन्न कान्टोनबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

एनआरएनए स्विट्जरल्याण्डले स्वदेशको संस्कृति, भाषा र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यका साथ सबै नेपाली दिदीबहिनी, दाजुभाइ तथा नयाँ पुस्तालाई कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन अनुरोध गरेको छ।

कार्यक्रम सम्बन्धी थप विवरण, कलाकारको सूची, प्रवेश व्यवस्था तथा दर्ता प्रक्रिया आयोजकले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

Previous articleअगस्ट ८ मा खुला भलिबल प्रतियोगिता, विजेतालाई ६०० स्वीस फ्रयाङ्क पुरस्कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here