रोटरी क्लब अफ डिल्लिबजारले क्लबका पूर्व अध्यक्ष (पास्ट प्रेसिडेन्ट) तथा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष श्री लक्ष बहादुर केसीकाे जीवनीमा आधारित भरतविक्रम ढकालद्वारा लिखित आत्मकथात्मक पुस्तक ‘अझै उकालो बाँकी छ’ को एक विशेष समारोहका बीच विमोचन गरेको छ।
क्लबका अध्यक्ष प्रेम वली, पुस्तकका प्रमुख पात्र लक्ष बहादुर केसी तथा क्लबका पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना ले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो। कार्यक्रममा क्लबकी प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारी, सचिव सन्ध्या राजभण्डारी, विभिन्न पास्ट प्रेसिडेन्टहरू, बोर्ड सदस्यहरू, रोटरियनहरू तथा रोटर्याक्ट र इन्टर्याक्ट क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना र युवराज अधिकारी ले पुस्तकले के.सी.काे जीवनका उकाली–ओराली, संघर्ष, अनुभव तथा सफलताको यात्रालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको बताउनुभयो। उहाँहरूले पुस्तकले पाठकलाई कठिन परिस्थितिमा पनि निरन्तर अगाडि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
पुस्तकका प्रमुख पात्र लक्ष बहादुर केसी ले आफ्नो मन्तव्यका क्रममा हाल मिर्गौला सम्बन्धी स्वास्थ्य समस्याका कारण नियमित हिँडडुल गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै यस्तो परिस्थितिलाई निराशाको रूपमा नभई अवसरका रूपमा उपयोग गरी आफ्ना जीवनका भोगाइ, अनुभव र अनुभूतिहरूलाई पुस्तक मार्फत अभिव्यक्त गरेको बताउनुभयो। उहाँले पुस्तकका लेखक भरतविक्रम ढकाल सहित लेखन यात्रामा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो जीवनका सिकाइहरू नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले पुस्तक तयार गरिएको जानकारी दिनुभयो।
कार्यक्रमका अध्यक्ष प्रेम वलीले लक्ष बहादुर केसीलाई पुस्तक प्रकाशनको सफलताका लागि हार्दिक बधाई ज्ञापन गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले ‘अझै उकालो बाँकी छ’ केवल एउटा पुस्तक मात्र नभई संघर्ष, धैर्यता, सकारात्मक सोच र निरन्तर यात्राको प्रेरणादायी दस्तावेज भएको उल्लेख गर्नुभयो। साथै, यस पुस्तकले जीवनमा विभिन्न चुनौतीहरूको सामना गरिरहेका पाठकहरूलाई आशा, हौसला र मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सहभागीहरूले पुस्तकलाई के.सी.काे जीवन अनुभव, सामाजिक योगदान तथा शैक्षिक क्षेत्रमा पुर्याएको नेतृत्वको महत्वपूर्ण अभिलेखका रूपमा मूल्यांकन गर्दै यसको सफलताको शुभकामना व्यक्त गरेका थिए। रोटरी क्लब अफ डिल्लिबजारले यस्ता साहित्यिक तथा प्रेरणामूलक कृतिहरूको सम्मान र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ।





