खुर। स्विट्जरल्याण्डको ग्राउबुन्डेन (Graubünden) क्यान्टोनको आज, १४ जुन २०२६ मा सम्पन्न भएको प्रदेश संसद (Grosser Rat) निर्वाचनमा प्रवासी नेपाली राम दास विजयी भएका छन्। बारा जिल्लाको कलैया स्थायी घर भएका ४६ वर्षीय दासले २,८५० मत प्राप्त गर्दै प्रदेश सांसद पदमा विजय हासिल गरेका हुन्।
दासले सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (SP) को तर्फबाट उम्मेदवारी दिएका थिए। उनले चुनावी अभियानका क्रममा स्वास्थ्य सेवा, सामाजिक न्याय, सुलभ आवास तथा दिगो विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका थिए।
ग्राउबुन्डेन क्यान्टोनको राजधानी खुर (Chur) क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका दासको विजयलाई स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। उपलब्ध जानकारीअनुसार, स्विट्जरल्याण्डको राजनीतिमा सक्रिय भएर प्रदेश सांसद पदमा निर्वाचित हुने उनी सम्भवतः नेपाली मूलका पहिलो व्यक्ति बनेका छन्।
स्विट्जरल्याण्डमा २६ वटा क्यान्टोन (प्रदेश) छन्। तीमध्ये ग्राउबुन्डेन सबैभन्दा ठूलो क्यान्टोनमध्ये एक हो। यहाँको प्रदेश संसद ‘ग्रोसर राट’मा कुल १२० सदस्य रहने व्यवस्था छ। संसदले क्यान्टोनका कानुन निर्माण, बजेट अनुमोदन तथा महत्वपूर्ण नीतिगत निर्णय गर्ने जिम्मेवारी निर्वाह गर्छ।
सन् २००८ देखि स्विट्जरल्याण्डमा बस्दै आएका दास नेपालमा रहँदा पत्रकारितामा सक्रिय थिए। स्विट्जरल्याण्डमा उनले स्वास्थ्य क्षेत्रमा अध्ययन गरी पेशागत जीवन अगाडि बढाए। हाल उनी स्वास्थ्यकर्मी (Fachmann Gesundheit) का रूपमा कार्यरत छन्।
विवाहित तथा दुई सन्तानका पिता दास लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका छन्। स्थानीय समुदायसँगको निकटता, सामाजिक सेवामा सक्रियता तथा जनमुखी मुद्दाप्रतिको प्रतिबद्धताले उनलाई निर्वाचनमा सफलता दिलाएको समर्थकहरूको भनाइ छ।
दासको विजयसँगै स्विट्जरल्याण्डमा रहेका नेपाली समुदायको राजनीतिक सहभागिताले नयाँ उचाइ प्राप्त गरेको छ। उनको निर्वाचनले प्रवासी नेपालीहरूलाई स्थानीय राजनीतिमा सक्रिय सहभागिता जनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।



