स्विट्जरल्याण्ड। सोसाइटी अफ नेपलिज हेल्थकेयर प्रोफेशनल्स इन युरोप, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर काठमाडौं र नर्डिक नेपाल मेडिकल सोसाइटीले संयुक्त रूपमा हेड एण्ड नेक क्यान्सरसम्बन्धी विशेष वेबिनार श्रृंखला आयोजना गर्ने भएका छन्। नेपालमा हेड एण्ड नेक क्यान्सर प्रमुख क्यान्सरमध्ये एकका रूपमा देखिनुका साथै अधिकांश बिरामीहरू ढिलो चरणमा पहिचान हुने अवस्थालाई मध्यनजर गर्दै दन्त चिकित्साशास्त्रका विद्यार्थी र स्वास्थ्यकर्मीहरूको ज्ञान, क्लिनिकल दक्षता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
कार्यक्रमले हेड एण्ड नेक क्यान्सरको प्रारम्भिक पहिचान, बहुविषयगत उपचार व्यवस्थापन तथा रोकथाममुखी मुख स्वास्थ्य सेवामा विशेष जोड दिनेछ। पाँच वटा व्याख्यान समेटिएको यस वेबिनार श्रृंखला जुममार्फत यसै जुन महिनाको १० तारिखबाट सञ्चालन हुनेछ। वेबिनारमा मुखको क्यान्सरको एपिडिमियोलोजी, मुखका सम्भावित क्यान्सरपूर्व अवस्थाहरू, हेड एण्ड नेक क्यान्सरको निदान तथा उपचार व्यवस्थापन, रेडियोथेरापीका सिद्धान्त र त्यसबाट हुने साइड इफेक्टहरूको व्यवस्थापन, साथै दन्त रेडियोलोजीमा विकिरण सुरक्षासम्बन्धी महत्वपूर्ण विषयहरू समेटिनेछन्।
कार्यक्रममा नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलका प्रा. डा. दीपक सापकोटा, स्विट्जरल्याण्डको बर्न युनिभर्सिटी हस्पिटलका डा. विनयकुमार श्रेष्ठ र बेल्जियमको घेन्ट युनिभर्सिटी हस्पिटलका मेडिकल फिजिसिस्ट डा. राजु श्रीवास्तवले विशेषज्ञ व्याख्यान दिनेछन्। प्रत्येक सत्रपछि अन्तरक्रियात्मक प्रश्नोत्तर तथा छलफल कार्यक्रम पनि सञ्चालन गरिनेछ।
यस वेबिनार श्रृंखलाबाट दन्त चिकित्साशास्त्रका विद्यार्थी र स्वास्थ्यकर्मीहरूमा हेड एण्ड नेक क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान, उपचार व्यवस्थापन तथा विकिरण सुरक्षासम्बन्धी ज्ञान र व्यावसायिक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। साथै, नेपाल र युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूबीच शैक्षिक सहकार्य तथा ज्ञान आदानप्रदानलाई अझ सुदृढ बनाउने लक्ष्य पनि राखिएको आयोजकहरूले बताएका छन्।



