जुरीख। नेपाली मिक्स्ड मार्सल आर्ट्स (MMA) खेलाडी रविन्द्र ढाँट ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता `रोड टु यूएफसी सिजन ५‘ (Road to UFC Season 5) मा शानदार जित निकाल्दै इतिहास रचेका छन्। चीनको मकाउस्थित ग्यालेक्सी एरिना (Galaxy Arena) मा बिहीबार सम्पन्न ब्यान्टमवेट क्वार्टरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोन (Kimbert Alintozon) लाई दोस्रो राउन्डमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।
प्रतिस्पर्धाको सुरुवातदेखि नै आक्रामक देखिएका रविन्द्रले उत्कृष्ट स्ट्राइकिङ र ग्राउन्ड कन्ट्रोल प्रदर्शन गरे। दोस्रो राउन्डमा लगातार शक्तिशाली प्रहार गर्दै उनले टेक्निकल नकआउट (TKO) मार्फत शानदार जित गरेका थिए।
यो जितसँगै रविन्द्र ढाँट ‘Road to UFC’ प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन्। प्रतियोगितामा उपस्थित नेपाली समर्थकहरूले राष्ट्रिय झण्डासहित उत्साहजनक समर्थन जनाएका थिए, जसले मकाउको रंगशालामा नेपाली उपस्थिति झल्काएको थियो।
रविन्द्रले जितपछि आफ्ना समर्थक, प्रशिक्षक तथा सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरेका छन्। उनले अब सेमिफाइनलमा जापानका Yunosuke Minami र न्युजिल्याण्डका Kasib Murdoch बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
‘बझाङको बाघ’ भनेर चिनिने रविन्द्र ढाँट हाल नेपाली MMA को सबैभन्दा चर्चित नाममध्ये एक हुन्। गत वर्ष भारतको Matrix Fight Night मा च्याम्पियन बनेपछि उनले अन्तर्राष्ट्रिय MMA क्षेत्रमा थप चर्चा कमाएका थिए।
Road to UFC प्रतियोगिता एशियाका उत्कृष्ट प्रतिभावान फाइटरहरूलाई UFC सम्म पुग्ने अवसर दिने प्रतिष्ठित प्लेटफर्म हो। प्रतियोगिताको विजेताले विश्वकै सबैभन्दा ठूलो MMA संस्था UFC सँग सम्झौता गर्ने अवसर प्राप्त गर्ने भएकाले रविन्द्रको यो सफलता नेपाली खेलकुदका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।



