नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको दोश्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय उद्योग उपाध्यक्ष दामोदर नेपालले बागमती प्रदेशको दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित नयाँ कार्यसमितिका अध्यक्ष तथा पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो । बैठकमा महासंघ केन्द्रीय समिति उपाध्यक्ष श्री रामसुन्दर बकेको समेत उपस्थिति रहेको थियो ।
प्रमाणपत्र वितरण पश्चात् बागमती प्रदेश कमिटीको अधिवेशनपछिको पहिलो पूर्ण बैठक समेत सम्पन्न भएको थियो । बैठकले बिभिन्न प्रस्तावहरुमाथि बृहत् छलफल गरी निर्णयहरु गरेको छ । बैठकका क्रममा उठेका बिभिन्न बिषयहरू उपर गहन छलफल भइ निर्णयहरू भएका थिए । बैठकको सर्वसम्मतिले ९ सदस्यीय कार्य सम्पादन समिति र २९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । त्यसैगरी बैठकले अध्यक्ष सन्तोष पौडेलले बैठकमा पेश गरेको प्रदेश कमिटीको एक वर्षे कार्ययोजना समेत पारित गरेको छ ।
उक्त बैठकमा प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै केन्द्रीय उद्योग उपाध्यक्ष श्री दामोदर नेपालले नव निर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । सम्बोधनका क्रममा प्रमुख अतिथि नेपालले महासंघ केन्द्रीय कार्य समितिको दृष्टिकोण, समितिले अंगिकार गरेका नीति तथा कार्यदिशा, आगामी कार्यक्रमहरू, प्रदेश समितिसँग मिलेर गर्न सकिने साझा कार्यक्रम, केन्द्र र प्रदेशका बीचमा हुनु पर्ने सहकार्य, संगठन बिस्तार आदिका बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा केन्द्र र प्रदेश मिलेर कसरी अगाडि बढ्न सकिन्छ र नेपाल उद्योग व्यापार महासंघको संगठनलाइ कसरी देशव्यापी र सबैको साझा बनाएर उद्योगी व्यवसायीहरूको दुःख सुखको साथी बनाउन सकिन्छ भन्ने सोचका साथ एकढिक्का भएर अगाडि बढ्न सबैलाइ अभिप्रेरित गर्नुभयो । उहाँले बैठकमा उत्साहजनक रूपमा भएको उपस्थितिको प्रशंशा गर्दै यस्तै उत्साहकासाथ आगामी दिनमा पनि महासंघको लक्ष्य र उद्येश्य प्राप्तिमा निरन्तर क्रियाशिल रहन प्रदेश कमिटीका सबै पदाधिकारी तथा सदस्यहरूलाइ आग्रह गर्नुभयो ।
बैठकमा अर्का उपाध्यक्ष राम सुन्दर बकेले महासंघ केन्द्रले अगाडि सारेको इन्भेष्टमेण्ट कम्पनी स्थापनाको योजनाका बारेमा प्रकाश पार्दै उक्त कम्पनीको कार्यविधि तयार गर्ने तयारी भइरहेको र कार्यविधि तयार भएपछि सोही अनुसार उक्त योजनामा सामेल हुन सबैलाइ आग्रह गर्नु भयो ।
त्यसैगरी बैठकमा प्रदेशका निवर्तमान अध्यक्ष दिल बहादुर महर्जनले बागमती प्रदेश कमिटीको स्थापनादेखि हालसम्मको गतिविधिका बारेमा प्रकाश पार्दै नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गर्नु भएको थियो ।
बागमती प्रदेशको उक्त प्रमाणपत्र वितरण कार्यक्रम र बैठकको अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष सन्तोष पौडेलले गर्नु भएको थियो भने सञ्चालन महासचिव रविन सिलवालले गर्नु भएको थियो ।
Home नेपाल समाचार नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको नव निर्वाचित कार्य समितिलाई प्रमाणपत्र वितरण






