जेनेभा। सोसाइटी अफ नेपलीज हेल्थकेयर प्रोफेशनल्स इन युरोपका अध्यक्ष डा. बिनय कुमार श्रेष्ठले नेपाल सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्रीमती नीशा मेहतालाई उनको जेनेभा भ्रमणका क्रममा एक ज्ञापनपत्र बुझाएका छन्।
उक्त ज्ञापनपत्रमा विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको चासोका विभिन्न नीतिगत तथा नियामक विषयहरू उठान गर्दै नेपालमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि लगानी वृद्धि, संस्थागत सुधार तथा विश्वव्यापी पेशागत संलग्नताको आवश्यकता औंल्याइएको छ।
ज्ञापनपत्रमा उठाइएको प्रमुख विषयमध्ये एक नेपाल मेडिकल काउन्सिलमा एनआरएन चिकित्सक दर्ताको निरन्तरतासम्बन्धी रहेको छ। नेपालमा वैधानिक रूपमा स्थायी दर्ता भई पछि विदेशी नागरिकता प्राप्त गरेका एनआरएन चिकित्सकहरूको दर्ता निरन्तर कायम रहने व्यवस्था गर्न नेपाल सरकार तथा नेपाल मेडिकल परिषदसँग माग गरिएको छ। साथै, योग्य नयाँ एनआरएन आवेदकहरूका लागि वार्षिक नवीकरणको अनिवार्यता हटाई दीर्घकालीन दर्ता प्रणाली लागू गर्नुपर्ने माग पनि गरिएको छ। सोसाइटीका अनुसार यस्ता सुधारहरूले विदेशमा कार्यरत उच्च दक्षता प्राप्त नेपाली चिकित्सक तथा विशेषज्ञहरूलाई नेपालको स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी योगदान दिन प्रोत्साहित गर्नेछ।
ज्ञापनपत्रमा नेपालको स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन वृद्धि गर्न पनि विशेष जोड दिइएको छ। हाल स्वास्थ्य क्षेत्रमा कुल राष्ट्रिय बजेटको करिब चार प्रतिशत मात्र विनियोजन भइरहेको उल्लेख गर्दै, बढ्दो जनसंख्या, स्वास्थ्य सेवाको माग तथा स्वास्थ्य प्रणालीका प्राथमिकताहरूको तुलनामा यो अपर्याप्त रहेको बताइएको छ।
यसका अतिरिक्त, विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई नेपालको स्वास्थ्य क्षेत्र विकासमा संस्थागत ढंगले सहभागी गराउने संयन्त्र विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, रोकथाममुखी स्वास्थ्य सेवाको विस्तार, नर्सिङ पेशाको सुदृढीकरण तथा नेपालमा समग्र डिजिटल स्वास्थ्य प्रणालीको विकास र कार्यान्वयनलाई तीव्रता दिनुपर्ने विषयमा पनि जोड दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रीमती नीशा मेहता विश्व स्वास्थ्य संगठनद्वारा आयोजित ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुन हाल जेनेभा भ्रमणमा रहेकी छन्। भ्रमणका क्रममा उनले उक्त सभालाई सम्बोधन गरेकी छन्।
सोसाइटी अफ नेपलीज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले अन्तर्राष्ट्रिय पेशागत सहकार्य तथा ज्ञान आदानप्रदानमार्फत नेपालमा समतामूलक, आधुनिक तथा दिगो स्वास्थ्य सेवा प्रणाली विकासका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।



