रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले आफ्नो २७औँ स्थापना दिवस (Chartered Day) विविध कार्यक्रमसहित भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको क्लबले स्थापना दिवसको अवसरमा सम्मान समारोह, सांस्कृतिक प्रस्तुतिको कार्यक्रम आयोजना गरेको हो।
क्लबका अध्यक्ष रोटरियन प्रेम कुमार वलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर बिनोद कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा इमिडियट पास्ट डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पास्ट डिस्ट्रिक्ट गभर्नरहरू सञ्जय गिरी, योगेन्द्रमान प्रधान, जितेन्द्र राजभण्डारी, लाइन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ का डिस्ट्रिक्ट गभर्नर बिनय बस्नेत, गभर्नर इलेक्ट विष्णुबहादुर कार्की, गभर्नर नोमिनी आईपी ढकाल, डीजीएनडी अमित गिरी, डिस्ट्रिक्ट सेक्रेटरी अनिश बज्राचार्य लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष प्रेम कुमार वलीले आफ्नो कार्यकालमा क्लबले सञ्चालन गरेका विभिन्न सामाजिक, शैक्षिक तथा मानवीय सेवामूलक गतिविधिबारे संक्षिप्त जानकारी गराउँदै क्लबले समुदायको हितमा निरन्तर कार्य गर्दै आएको बताउनुभयो। उहाँले रोटरीको मूल भावना “Service Above Self” लाई आत्मसात गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी क्लबका पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले रोटरी क्लब अफ डिल्लिबजारको स्थापना, इतिहास तथा विगत २७ वर्षमा क्लबले सम्पन्न गरेका महत्वपूर्ण तथा दीर्घकालीन योजनाहरूको बारेमा विस्तृत जानकारी गराउनुभयो। उहाँले क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा विपन्न समुदायको उत्थानमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले रोटरी क्लब अफ डिल्लिबजारले चालु वर्षमा सञ्चालन गरेका विविध सामाजिक कार्यक्रमहरूको उच्च प्रशंसा गर्दै क्लबलाई “पुरानो, सक्रिय तथा भाइब्रेन्ट क्लब” को संज्ञा दिनुभयो। उहाँले रोटरी फाउन्डेसनलाई अझ सशक्त बनाउन क्लब तथा सदस्यहरूले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिँदै रोटरीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।
स्थापना दिवसको अवसरमा समाज तथा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा प्रणवानन्द आश्रमका प्रिन्सिपल राजाराम यादव, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयकी प्रधानाध्यापक रीता तिवारी तथा डिल्लिबजार क्षेत्रका समाजसेवी सन्तोष ढुङ्गेल रहनुभएको थियो। उहाँहरूलाई शिक्षा, समाजसेवा तथा मानवीय सेवामा पुर्याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरिएको क्लबले जनाएको छ।
यसैगरी, रोटरी क्लब अफ डिल्लिबजारका चार्टर सदस्यहरू तथा क्लबमा २० वर्षभन्दा बढी समयदेखि निरन्तर सक्रिय योगदान पुर्याउँदै आउनुभएका सदस्यहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत समाजसेवामा निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भाइस प्रेसिडेन्ट (द्वितीय) राजेश अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन भाइस प्रेसिडेन्ट (प्रथम) दीप्ती सिंहले प्रभावकारी रूपमा गर्नुभएको थियो।
औपचारिक कार्यक्रमसँगै नृत्य, गीत, कविता वाचन तथा बाँसुरीवादन लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ आकर्षक र उल्लासमय बनाएको थियो। सहभागी अतिथिहरूले रोटरी क्लब अफ डिल्लिबजारले समाजसेवामार्फत पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिहरू निरन्तर सञ्चालन भइरहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

Previous articleविद्यालयस्तरीय सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
Next articleस्वास्थ्य मन्त्रीलाई सोसाइटी अफ नेपलीज हेल्थकेयर प्रोफेशनल्स इन युरोपद्वारा ज्ञापनपत्र: एनआरएन चिकित्सक दर्ता प्रावधान संशोधन गर्न माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here