स्विट्जरल्याण्ड। युरोपस्थित नेपाली स्वास्थ्यकर्मीहरूको संस्था “सोसाइटी अफ नेपलिज् हेल्थकेयर प्रोफेसनल्स इन युरोप” (SNHPE) ले नेपाल मेडिकल काउन्सिल (NMC) द्वारा १७ जना गैरआवासीय नेपाली (NRN) चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठले जारी गरेको प्रेस रिलिजमा काउन्सिलको निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै मौजुदा कानुन तथा नियमावलीहरूले नेपालको स्वास्थ्य प्रणालीको व्यावहारिक आवश्यकता र एनआरएन चिकित्सकहरूको योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरेको जनाएको छ।
SNHPE का अनुसार यस कदमले विदेशमा रहेका नेपाली चिकित्सक र नेपालका स्वास्थ्य संस्थाबीचको सहकार्य, ज्ञान आदान–प्रदान, शैक्षिक सहयोग तथा विशेषज्ञ सेवामा नकारात्मक असर पार्न सक्छ। साथै, यस्ता निर्णयहरू सार्वजनिक रूपमा घोषणा गर्दा चिकित्सकहरूको गोपनीयता र पेशागत प्रतिष्ठामा असर पर्ने भन्दै संस्थाले आपत्ति जनाएको छ।
संस्थाले सरकार र नेपाल मेडिकल काउन्सिललाई सम्बन्धित कानुनी प्रावधानहरूको पुनरावलोकन गर्न आग्रह गर्दै नागरिकताको आधारमा मात्र दर्ता खारेज गर्नु उपयुक्त नहुने धारणा राखेको छ। SNHPE ले संवाद र सहकार्यमार्फत नेपालको स्वास्थ्य क्षेत्र सुदृढ बनाउनु पर्ने तथ्यमा जोड दिएको छ।



