रोटरी क्लब डिल्लिबजार–काठमाडौंले हालै असामयिक निधन भएका रोटरियन सौरव पन्तको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
क्लबले गत आइतबार असामयिक निधन भएका क्लबका सक्रिय सदस्य रोटरियन सौरव पन्तको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।
क्लबका अध्यक्ष प्रेम वलीले दीप प्रज्वलन गरी तथा पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले स्वर्गीय सौरव पन्तको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलीसभाको शुभारम्भ गर्नुभएको थियो। उक्त श्रद्धाञ्जली कार्यक्रममा उपस्थित रोटरियन तथा उहाँहरूका जीवनसाथीहरूले स्वर्गीय पन्तको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै, दिवंगत ुसौरव पन्तको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो।
कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले स्वर्गीय सौरव पन्तका बारेमा संक्षिप्त धारणा राख्नुभएको थियो। त्यसैगरी आईपिपी सागरनिधि तिवारी, पास्ट प्रेसिडेन्ट डा. उदयराज शर्मा, पास्ट प्रेसिडेन्ट पुण्यप्रसाद पौडेल, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, भाइस प्रेसिडेन्ट राजेश अर्याल, एडमिन चेयर बबिता बस्नेत तथा सर्जेन्ट एट आर्म ऋषिदेव पन्त लगायतले स्वर्गीय पन्तसँग बिताएका क्षणहरू सम्झँदै श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले स्वर्गीय सौरव पन्त अत्यन्त मिलनसार, भद्र, सहयोगी तथा जिज्ञासु स्वभावका व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको असामयिक निधनले क्लब तथा समाजले एक असल समाजसेवी गुमाएको बताएका थिए। उहाँको निधनको खबरले सम्पूर्ण क्लब परिवार स्तब्ध भएको र छोटो समयमा पनि उहाँले क्लब तथा समाजका लागि पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहने वक्ताहरुले बताएका थिए ।
क्लबका अध्यक्ष प्रेम वलीले स्वर्गीय पन्तले छोटो समयमै क्लब तथा समाजप्रति पुर्याएको योगदान सदैव स्मरणीय रहने बताउनुभयो। त्यसैगरी डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले स्वर्गीय पन्त आफ्नै छिमेकी भएकाले बाल्यकालदेखि नै उहाँलाई नजिकबाट चिन्ने अवसर पाएको र उहाँको सेवाभाव तथा सामाजिक समर्पण देखेर रोटरी क्लब डिल्लिबजारमा आबद्ध गराएको स्मरण गराउनु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रम अत्यन्त भावुक वातावरणमा सम्पन्न भएको थियो।









