रोटरी क्लब अफ डिल्लिबजारले बाल बिकास समाजसँगको सहकार्यमा बिपन्न तथा सिमान्तकृत महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सञ्चालन गर्दै आएको स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रमअन्तर्गत चार वटा महिला समूहलाई सीड मनी हस्तान्तरण गरेको छ। एक वर्षसम्म विभिन्न सीप तथा स्वरोजगारसम्बन्धी तालिम प्रदान गरिएपछि प्रत्येक समूहलाई असी /असी हजारका दरले कुल रु. ३ लाख २० हजार रकम हस्तान्तरण गरिएको हो।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती पालिकाको भिमटार क्षेत्रमा आयोजित कार्यक्रममा पालिका प्रमुख झम्क नेपालको प्रमुख आतिथ्यतामा जुनकेरी महिला समूह र प्रगति महिला समूहलाई रु. ८०/८० हजार हस्तान्तरण गरिएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शोभाना तमाङ, क्लबका अध्यक्ष प्रेम वली, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, रोटरियन विष्णु पराजुली, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी, बाल विकास समाजको तर्फबाट कार्यक्रम प्रमुख प्रदीप कुमार श्रेष्ठ, कोषाध्यक्ष सुनिता खनाल, बोर्ड सदस्य रामशरण रिमाल तथा कार्यक्रम सुपरिवेक्षक सपना बस्नेतलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले महिला सशक्तीकरण तथा स्वरोजगार विकासका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताएका थिए।

उक्त कार्यक्रमकै क्रममा काभ्रेको पीपलटारमा पनि अर्को कार्यक्रम आयोजना गरिएको थियो। पाचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा कमलको फूल महिला समूह र सुनाखरी महिला समूहलाई पनि रु. ८०/८० हजारका दरले सीड मनी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा नगरपालिकाका शिक्षा बिभाग प्रमुख उदय कोइरालाको समेत उपस्थिति रहेको थियो। आयोजकका अनुसार उक्त रकम समूहले सामूहिक रूपमा साना व्यवसाय तथा आयआर्जनका गतिविधिमा लगानी गर्नेछन्।

कार्यक्रममा सहभागी महिलाहरूले आफूहरू नियमित रूपमा मासिक बचत गर्दै आएको बताएका थिए। उनीहरूले यस परियोजनाले केवल साक्षरता मात्र नभई समाजमा आत्मविश्वासका साथ बोल्न सक्ने क्षमता विकास गरेको, आर्थिक अनुशासन सिकाएको तथा सामूहिक रूपमा काम गर्ने बानीको विकास गराएको अनुभव सुनाएका थिए। हाल केही समूहहरूले आलु, अदुवा, तोरी लगायतका बालीको सामूहिक खेतीसमेत सुरु गरिसकेको जानकारी दिएका थिए।

महिलाहरूले यस कार्यक्रमले आफूहरूमा नयाँ उत्साह र आत्मनिर्भर बन्ने प्रेरणा दिएको उल्लेख गर्दै अब आफूहरू मात्र साक्षर नभई आफ्ना छोराछोरीको शिक्षा र भविष्यप्रति पनि सजग बनेको बताएका थिए। उनीहरूका अनुसार सामूहिक बचत, सीप विकास तथा व्यवसायिक सोचले गाउँस्तरमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको छ।

यस परियोजनालाई Rotary Club of Mitcham तथा Rotary Club of Dillibazar ले आर्थिक सहयोग तथा समन्वय गर्दै आएका छन् भने बाल बिकास समाजले प्राविधिक सहयोगसहित कार्यक्रम सञ्चालन गर्दै आएको छ। परियोजनाले ग्रामीण तथा सिमान्तकृत महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ दीर्घकालीन सामाजिक तथा आर्थिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याइरहेको आयोजकले जनाएको छ।

Previous article१७ एनआरएन चिकित्सकहरूको दर्ता खारेजीप्रति युरोपका नेपाली डाक्टरहरूको आपत्ती
Next articleएमआरपी समस्या तत्काल समाधान गरियोस्ः उद्योग व्यापार महासंघ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here