जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डले “पाँचौं पिङ्गपोङ्ग (टेबल टेनिस) प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ। खेलकुद तथा विभिन्न सामाजिक कार्यक्रममार्फत स्वीस तथा नेपाली समुदायमा सक्रिय रहँदै आएको क्लबले आगामी जुलाई ११, २०२६ शनिवारका दिन प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो।

क्लबका अनुसार गत वर्ष आयोजना गरिएको प्रतियोगितामा सिङ्गल र डबल गरी करिब ३० टोलीको सहभागिता रहेको थियो। यस वर्ष पनि सोही उत्साहलाई निरन्तरता दिँदै प्रतियोगिता आयोजना गर्न लागिएको र “खेल नै स्वास्थ्यको धन हो” भन्ने मूल नारासहित खेलमार्फत शारीरिक तथा मानसिक सुदृढता अभिवृद्धि गर्नुका साथै नेपाली कला, खेल र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको क्लबले जनाएको छ।

प्रतियोगितामा सिङ्गल र डबल दुवै विधामा खेल सञ्चालन गरिनेछ। विजेतामध्ये प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडी लाई मात्र पुरस्कार प्रदान गरिनेछ, र पुरस्कारको आकार सहभागी खेलाडीको सङ्ख्याका आधारमा निर्धारण गरिने आयोजकले जानकारी दिएको छ।

यसपटक पनि नेपाली दिदीबहिनीहरूलाई विशेष अनुरोध गर्दै इच्छुक महिलाहरूलाई पनि प्रतियोगितामा सहभागिता जनाउन प्रोत्साहित गरिएको छ। खेलमा सहभागी हुन चाहने खेलाडीहरूले प्रतियोगिताभन्दा कम्तीमा पाँच दिनअघि आफ्नो नाम दर्ता गराउनुपर्नेछ। दर्ता शुल्क सिङ्गलतर्फ २० स्वीस फ्रान्क र डबलतर्फ ३० स्वीस फ्रान्क तोकिएको छ।

प्रतियोगितासम्बन्धी नियमहरू अनुसार खेल गोलाप्रथाबाट सञ्चालन गरिनेछ भने नकआउट प्रणाली अपनाइनेछ। फाइनल खेल भने ‘बेस्ट अफ फाइभ’ ढाँचामा खेलाइनेछ। खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्री र आयोजक समितिको निर्णय अन्तिम हुने बताइएको छ। खेल बिहान ९ बजेदेखि सुरु हुने भएकाले सहभागी खेलाडी तथा दर्शकलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ।

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अतिथिहरूका लागि सामान्य खानपानको व्यवस्था गरिनेछ। पेय पदार्थ पनि उपलब्ध हुनेछ, तर मदिराजन्य पदार्थ भने शुल्क लाग्ने आयोजकले जनाएको छ।

कार्यक्रम जुरीख ओर्लिकोनस्थित माक्स बिल प्लाजमा (आउटडोर) सञ्चालन हुने तय गरिएको छ। यद्यपि मौसम खराब भएमा वा अन्य कारणवश स्थान परिवर्तन गर्नुपरेमा वैकल्पिक स्थानको व्यवस्था गरी फोन तथा इमेलमार्फत जानकारी गराइने क्लबले जनाएको छ।

स्विट्जरल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय तथा नेपालप्रेमी स्वीस नागरिकहरूलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन जुरीख नेपाली स्पोर्ट्स क्लबले हार्दिक आमन्त्रण गरेको छ।

Previous articleनिशुल्क पानी वितरण तथा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न
Next articleरोटरी क्लब डिल्लिबजारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here