Rotary Club of Dillibazar तथा CWIN Nepal (सिबिन नेपाल) को संयुक्त आयोजनामा “मेन्टल हेल्थ तथा सेल्फ केयर” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।
क्लबका अध्यक्ष प्रेम ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्टहरू, पदाधिकारी, सदस्यहरू, रोटर्याक्ट सदस्यहरू तथा अन्य आमन्त्रित पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई CWIN Nepal का अध्यक्ष माधव प्रधानले सम्बोधन गर्दै मानसिक स्वास्थ्यको महत्व, वर्तमान समाजमा यसको बढ्दो चुनौती तथा सचेतनाको आवश्यकता बारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको मुख्य प्रस्तुति डा. जस्मिन मा द्वारा गरिएको थियो। डाक्टर जस्मिनले मानसिक तनाव (Stress) कसरी उत्पन्न हुन्छ, यसको लक्षणहरू के–के हुन सक्छन् र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिनुभयो। उहाँले दैनिक जीवनमा देखिने मानसिक दबाबलाई कम गर्न विभिन्न व्यवहारिक उपायहरू समेत प्रस्तुत गर्नुभयो। साथै, मानसिक स्वास्थ्य सुधारका लागि पाँच ज्ञानेन्द्रिय (इन्द्रियहरू) को सही प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि व्यावहारिक अभ्याससहित जानकारी प्रदान गर्नुभयो।
यसै क्रममा स्वास्थ्यकर्मी सुशिला श्रेष्ठले ध्यान (Meditation) को माध्यमबाट तनाव कम गर्ने विधिहरू सहभागीहरूलाई सिकाउनुका साथै पाँच ज्ञानेन्द्रियको प्रयोगमार्फत मानसिक सन्तुलन कायम गर्ने अभ्यास गराउनुभएको थियो।
कार्यक्रम अत्यन्तै रोचक, ज्ञानवर्द्धक, उत्साहपूर्ण तथा अन्तरक्रियात्मक बनेको सहभागीहरूले बताएका थिए। कार्यक्रममा सहभागीहरूले खुला रूपमा आफ्ना जिज्ञासा राख्ने तथा विज्ञहरूबाट प्रत्यक्ष उत्तर पाउने अवसर समेत पाएका थिए।
मैतिदेवीस्थित बुइगल रेस्टुराँमा सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारि ले सम्पूर्ण सहभागी, वक्ता तथा आयोजक टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उक्त कार्यक्रमले मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको विश्वास रहेको छ।







