रोटरी क्लब अफ डिल्लिबजारले ग्लोबल मनी वीकको अवसर पारेर ब्रोकर नं. १९ (नेपाल इन्भेस्टमेन्ट सेक्युरिटिज प्रा.लि.) को सहकार्यमा दुई दिने शेयर बजार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंस्थित डिल्लिबजार कन्या कलेजमा आयोजित उक्त कार्यक्रममा स्नातक तहका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रम रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम वलीको सभापतित्वमा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समापन समारोहमा ब्रोकर नं. १९ का सिईओ कृष्ण भण्डारीले धन्यवाद तथा समापन मन्तव्य राख्नुभएको थियो।
तालिममा सेबोनका निवर्तमान प्रवक्ता निरज गिरी र शेयर बजार विश्लेषक तथा पत्रकार अर्जुन तिमिल्सिनाले प्रशिक्षकको भूमिका निर्वाह गर्दै शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका, जोखिम व्यवस्थापन तथा उपयुक्त कम्पनी छनोटका बारेमा विस्तृत जानकारी दिनुभएको थियो। कार्यक्रममा पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली तथा कलेजकी प्रिन्सिपल अपराजिता अर्यालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैगरी निवर्तमान अध्यक्ष सागरनिधि तिवारी, पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, सचिव सन्ध्या राजभण्डारी, सह सचिव विष्णु बहादुर कार्की, रोटरियन विष्णु पराजुली, इन्जिनियर रबिन्द्र राज पराजुली लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्त उपयोगी, ज्ञानवर्द्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए। कतिपयले शेयर बजारको बारेमा पहिले सुने पनि स्पष्ट रूपमा बुझ्ने अवसर पहिलो पटक प्राप्त भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरे। कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले युवाहरूलाई सही तरिकाले लगानी गर्न सिकाउने मात्र नभई बचत गर्ने बानी विकास गर्न, वित्तीय साक्षरता बढाउन र आत्मनिर्भर बन्न प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेल्छन्।








